काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेभित्र रहेका क्रान्तिकारी तथा वामपन्थी नेतृत्वसँग हातेमालो गर्न आफूहरू तयार रहेको बताएका छन्।
बिहीबार राष्ट्रियसभा गृहमा आयोजित एकता सभामा बोल्दै उनले एमालेका इमानदार र देशभक्त कार्यकर्तालाई ‘गलत नेतृत्व’ विरुद्ध उठ्न पनि आग्रह गरे।
प्रचण्डले भने, ‘एमालेभित्र हजारौँ वामपन्थी र देशभक्त कार्यकर्ता छन्। हामी उनीहरूसँग खुला छलफलमा छौँ। गलत नेतृत्वका कारण कति ठूलो हानी हुन्छ, हामी स्वयंले भोगेका अनुभव छ। त्यसैले फेरि एकपटक इतिहासलाई समीक्षा गर्नुस्।’
उनका अनुसार विगतमा एमालेसँग भएको एकता गलत व्यक्तिको नेतृत्वका कारण सफल हुन नसकेको थियो।
उनले थपे, ‘हामीले एकता गरेको अनुभव छ, तर नेतृत्व गलत हातमा परेपछि असहज परिस्थितिसम्म भोग्नुपर्यो। अहिले एमालेभित्रका इमानदार, देशभक्त र क्रान्तिकारी साथीहरूको आवाज उठ्न थालेको छ। यो आवाज अब दबिँदैन, अझै व्यापक हुँदै जानेछ।’
प्रचण्डले वामपन्थी धारलाई सुदृढ बनाउँदै “बृहत् वामएकता” निर्माण गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै सबै पक्षलाई एकताको दिशामा अघि बढ्न अपिल गरे।
प्रकाशित मिति: ११ मंसिर २०८२, बिहिबार












प्रतिक्रिया