काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता भीम रावलले भनेका छन् कि आफूले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई धेरै पहिले नै ‘मिसन ०८४’ होइन ‘पतन ०८४’ सुरु हुने चेतावनी दिएको थियो।
शुक्रबार धनगढीमा आयोजित एकता सन्देश सभामा बोल्दै रावलले ओलीले अघि सारेको अभियान सुरु हुँदा नै त्यसको परिणाम गिरावटमा समाप्त हुने स्पष्ट देखिएको दाबी गरे।
रावलका अनुसार जेनजी आन्दोलनले भत्काइदिएका संरचनाको खरानी समातेर अहिले ओलीले जनता डराउन खोजिरहेको आरोप समेत लाग्यो।उनका शब्दमा, ‘आज ओलीजी जलेको खरानी डढेलोझैँ फिंजाएर जनमानसमा त्रास फैलाउन खोज्दै हुनुहुन्छ।’
उनले सुदूरपश्चिमका जनताले राष्ट्रिय स्वाधीनताको पक्षमा दृढ रूपमा अगाडि बढ्ने विश्वास व्यक्त गरे। रावलले भने, ‘आगामी निर्वाचनका लागि हाम्रो पार्टी जनताको नयाँ जनादेश लिन पूर्ण रूपमा तयार छ। विगतमा भएका कुनै गल्ती दोहोरिन नदिई चुनाव सफलतापूर्वक सम्पन्न गर्ने प्रतिबद्धता हामीले जनाएका छौँ।’
सभामा उनले पार्टी सुदूरपश्चिममै पहिलो शक्ति बन्ने दाबी पनि गरे।
उनका अनुसार, ‘यो सभाले नै सन्देश दिएको छ—नेपाली कम्युनिस्ट पार्टी सुदूरपश्चिममा नम्बर एक बन्दैछ। चुनावमा हामी सबै जाति, भाषा, धर्म र क्षेत्रका जनतालाई एक ठाउँमा उभ्याएर अघि बढ्नेछौँ।’
प्रकाशित मिति: १२ मंसिर २०८२, शुक्रबार












प्रतिक्रिया