काठमाडौं । जेनजी आन्दोलन क्रममा भदौ २४ गते भएको तोडफोड र आगजनी घटनामा पूर्वसांसद अमनलाल मोदीका स्वकीय सचिव पक्राउ परेका छन्।

विघटित प्रतिनिधि सभामा तत्कालीन माओवादी केन्द्र हाल नेपाली कम्युनिस्ट पार्टीका सांसद मोदीका स्वकीय सचिव ताजिम अन्सारी तोडफोड र आगजनीको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन्।

advertisement

उनीसहित ५ जनालाई मोरङ जिल्ला अदालत लगायतका सरकारी कार्यालयमा तोडफोड र आगजनी गरेको आरोपमा आइतबार पक्राउ परेका हुन्।

मोरङ प्रहरीका अनुसार अन्सारीसहित महेश नेपाल, आवास पौडेल, राजिव यादव र अरूण साह सोनार पक्राउ परेका छन्।

अन्सारी आगजनीमा संलग्न भइरहँदा उनी तत्कालिन माओवादी केन्द्रका नेता तथा प्रतिनिधिसभा सदस्य अमनलाल मोदीका स्वकीय सचिव थिए। मोदी मन्त्री हुँदा पनि उनी स्वकीय सचिवको जिम्मेवारीमा थिए। घटनामा उनको प्रत्यक्ष संलग्नता देखिएको भिडियोहरू सार्वजनिक भएका थिए।

अन्सारीले कोशी प्रदेश सभाभित्र भएको आगजनी र तोडफोडका क्रममा नेपाल प्रहरीको टोपी लगाएर उल्लास मनाएको भिडियो पनि बाहिरिएको थियो।

 

आइतबार पक्राउ परेका अन्सारीसहित पाँच जनाको विराटनगरमा अदालत, महानगर पालिकालगायतका भवनमा आगजनीमा पनि संलग्नता रहेको प्रहरी स्रोतले बताएको छ।

अन्सारी लगायतका व्यक्तिहरुले आन्दोलनमा घुसपैठ गरेर युवाहरूलाई आगजनी र अराजकताका लागि हौस्याएको समेत प्रहरीको भनाइ छ।

मोरङका सरकारी भवनहरूमा आगजनी गर्ने २१ जना यसअघि नै पक्राउ परिसकेका छन्।

 

प्रकाशित मिति: १५ मंसिर २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com