काठमाडौं । पूर्वसञ्चारमन्त्री एवं नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेपालमा दर्ता नभई सञ्चालन भइरहेका मेटा (फेसबुक)सहितका सामाजिक सञ्जाल पुनः बन्द गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
प्रेस चौतारी नेपालले नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन तथा समसामयिक राष्ट्रिय राजनीतिका विषयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै गुरुङले नेपालमा व्यवसाय गर्ने सबै स्वदेशी–विदेशी कम्पनीहरूले अनिवार्य रूपमा नेपालको संविधान र कानुन पालना गर्नुपर्ने स्पष्ट पारे।
“हाम्रो देशको आफ्नै स्वाधीनता छ, स्वाभिमान छ। यहाँ व्यापार गर्न आउने कुनै पनि कम्पनीले नेपालमा दर्ता हुनुपर्दैन? संविधान र कानुन मान्नुपर्दैन? यस्तो सोच स्वीकार्य हुँदैन,” गुरुङले भने, “हामी गरिब देश हौँ भनेर विदेशी कम्पनीले हेप्ने? हाम्रो राष्ट्रिय स्वाधीनताको कुनै मूल्य छैन?”
उनले दर्ता र नियमनलाई उपेक्षा गर्दै अर्बौं रुपैयाँको कारोबार गर्ने विदेशी सामाजिक सञ्जाल कम्पनीहरूको रवैयाप्रति गम्भीर आपत्ति जनाए। “नेपालमा चिया पसल खोल्नसमेत सम्बन्धित निकायमा दर्ता हुनुपर्छ भने अर्बौंको कारोबार गर्ने कम्पनीलाई किन छुट ? रेगुलेसन अत्यन्तै आवश्यक छ,” उनले जोड दिए।
विदेशी कम्पनीको हेपाहा प्रवृत्तिका कारण आफूले यो विषय पुनः उठाउनुपरेको बताउँदै गुरुङले दर्ता नगर्ने सामाजिक सञ्जाललाई अन्ततः पुनः बन्द गर्नुपर्ने बताए। “दर्ता भएन, कानुन मानिएन भने कुनै दिन फेरि बन्द गर्नैपर्छ। नत्र कडा नियमन जरुरी छ,” उनले बताए।
पूर्वसञ्चारमन्त्री गुरुङकै कार्यकालमा नेपालमा दर्ता नभएका केही सामाजिक सञ्जाल बन्द गरिएका थिए। पछि जेन–जी आन्दोलन र सार्वजनिक दबाबका कारण ती प्लेटफर्म पुनः सञ्चालनमा आएका थिए।
प्रकाशित मिति: १६ मंसिर २०८२, मंगलबार













प्रतिक्रिया