काठमाडौं । दक्षिण एसियाली मुलुकहरूमा जनसंख्या अनुपातका आधारमा नेपाल सबैभन्दा धेरै यौनकर्मी भएको मुलुक भएको तथ्य बाहिरिएको छ भने यौनकर्मीको संख्याका आधारमा नेपाल चौथो स्थानमा रहेको तथ्याङ्क सार्वजनिक भएको छ। भारत, पाकिस्तान र बंगलादेशपछि नेपाल सबैभन्दा बढी यौनकर्मी भएको देशको सूचीमा परेको हो।
सार्क एचआईभी–एड्स केन्द्र काठमाडौंले विश्व एड्सविरुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रममा केन्द्रकी उपनिर्देशक डा. राबेया सुल्तानाले प्रस्तुत गरेको तथ्याङ्कअनुसार सन् २०२४ सम्म नेपालमा करिब १ लाख १५ हजार ९ सय यौनकर्मी रहेको खुलेको छ। नेपालभन्दा एक स्थान माथि रहेको बंगलादेशमा १ लाख ६१ हजार ८ सय यौनकर्मी रहेका छन् भने पाकिस्तानमा यौनकर्मीको संख्या २ लाख २८ हजार ८ सय पुगेको देखिएको छ।
दक्षिण एसियामा सबैभन्दा धेरै यौनकर्मी भारतमा रहेको तथ्याङ्क छ। भारतमा करिब ९ लाख ९५ हजार ५ सय यौनकर्मी रहेको अनुमान गरिएको छ, जुन नेपालभन्दा करिब ८ लाखभन्दा बढी हो। अर्कोतर्फ, क्षेत्रकै सबैभन्दा कम यौनकर्मी संख्या भुटानमा देखिएको छ, जहाँ करिब ६ सय जनामात्र यौनकर्मी रहेको बताइएको छ। माल्दिभ्समा भने यौनकर्मीसम्बन्धी आधिकारिक तथ्याङ्क उपलब्ध नभएको जनाइएको छ।
समग्रमा दक्षिण एसियामा करिब १५ लाख यौनकर्मी रहेको अनुमान प्रस्तुत गरिएको छ। यौनकर्मीको संख्याका हिसाबले नेपाल दक्षिण एसियामा अग्रपंक्तिमा देखिए पनि एचआईभी–एड्स संक्रमणको अवस्थाले भने सकारात्मक संकेत दिएको छ। डा. सुल्तानाका अनुसार पछिल्ला २० वर्षमा नेपालमा एड्स संक्रमण दर करिब ९० प्रतिशतले घटेको छ, जुन दक्षिण एसियाकै उल्लेखनीय उपलब्धि मानिएको छ।
प्रकाशित मिति: १६ मंसिर २०८२, मंगलबार













प्रतिक्रिया