काठमाडौं । सरकारले लुम्बिनी विकास कोषको सदस्य–सचिवमा गोरखा निवासी ४६ वर्षीय दीपक श्रेष्ठलाई मनोनीत गरेको छ। मन्त्रिपरिषद् निर्णयपछि पदभार ग्रहण गर्न मन्त्रालय बोलाइएका श्रेष्ठलाई प्रधानमन्त्री तथा संस्कृति, पर्यटन र नागरिक उड्डयनमन्त्री सुशीला कार्कीले धार्मिक संस्थाको संवेदनशीलता बुझेर कार्य सम्पादन गर्न निर्देशन दिएकी छन्।
श्रेष्ठलाई बधाइ दिँदै प्रधानमन्त्री कार्कीले भनिन्, तपाईंलाई सरकारले विश्वास गरेर जिम्मेवारी दिएको हो। लुम्बिनी धार्मिक संस्था हो, धर्मको हेक्का राखेर इमानदारीसाथ काम गर्नुहोला। तपाईंको आजको कामले भविष्यमा सन्ततिले गर्व गर्न पाऊन्।
नव–मनोनीत सदस्य–सचिव श्रेष्ठले आफूले पदको गरिमा र संस्थाको पहिचान जोगाउँदै परिणाममुखी काम गर्ने प्रतिबद्धता व्यक्त गरे। सहिद लखन गाउँपालिका–६, गोरखाका श्रेष्ठकाे इन्जिनियरिङ, व्यवस्थापन र प्रशासन क्षेत्रमा १७ वर्ष लामो अनुभव छ।
मेकानिकल इन्जिनियरिङमा डिप्लोमा हासिल गरेका श्रेष्ठले सिभिल इन्जिनियरिङमा स्नातक र यातायात इन्जिनियरिङ तथा व्यवस्थापनमा एमएस्सी गरेका छन्। उनले केही समय नागरिक उड्डयन प्राधिकरणमा सेवा गरेपछि २०६७ सालमा नेपाल खानेपानी संस्थानमा प्रवेश गरेका थिए। संस्थानका बनेपा र धरान शाखा प्रमुख भएर काम गरिरहेका बेला उनी २०७० मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा खटिएका थिए।
अख्तियारमा आठ वर्षसम्म भ्रष्टाचारसम्बन्धी अनुसन्धान कार्य सम्हालेका श्रेष्ठले उत्कृष्ट कार्यसम्पादनका लागि आयोग र खानेपानी संस्थान दुवैतर्फबाट विभिन्न पुरस्कार प्राप्त गरेका छन्। २०७६ मा अख्तियारले उनलाई ‘उत्कृष्ट कर्मचारी’ घोषणा गरेको थियो।
अख्तियारबाट बढुवा भएपछि श्रेष्ठ २०७८ मा पुनः खानेपानी संस्थानमै फर्किएका थिए। पछिल्लो समय उनी संस्थानको प्राविधिक अनुगमन तथा निरीक्षण शाखाको प्रमुखका रूपमा कार्यरत थिए। “जस ठाउँमा पुगिएको छ, त्यहाँ जागिरे मानसिकताबाट माथि उठेर नतिजा देखिने गरी काम गर्नु आवश्यक हुन्छ,” श्रेष्ठले भने।
प्रकाशित मिति: १६ मंसिर २०८२, मंगलबार













प्रतिक्रिया