एजेन्सी। अफगानिस्तानको खोस्त प्रान्तमा मंगलबार एक अपराधीलाई ८० हजार मानिसको अगाडि एउटा स्टेडियममा गोली हानेर मृत्युदण्ड दिइएको छ ।

एमु न्युजका अनुसार ती अपराधीमाथि १३ वर्षीय बालकले गोली चलाएका थिए । उनलाई बालकको परिवारका १३ सदस्यको हत्या गरेको आरोप लागेको थियो । यसमा कैयौँ बालबालिका र महिलाहरू पनि समावेश थिए ।

advertisement

मृत्युदण्ड दिनुअघि तालिबान अधिकारीहरूले १३ वर्षीय बालकलाई ‘आरोपितलाई माफ गर्न चाहन्छौ कि’ भनी सोधेका थिए । तर बालकले इन्कार गरे । त्यसपछि अधिकारीले बालकलाई बन्दुक दिएर अगाडि उभिएका व्यक्तिमाथि गोली चलाउन भने । मर्ने र मार्ने दुवै नातेदार थिए।

तालिबानको सर्वोच्च अदालतका अनुसार मारिएका व्यक्ति मंगल खान थिए । उनले अब्दुल रहमान नामक व्यक्तिको हत्या गरेका थिए । खोस्त प्रहरी प्रवक्ता मुस्तगफिर गोरबाजका अनुसार मृत्युदण्ड पाउने र दिने दुवै नातेदार थिए । यस मामिलामा अन्य दुई दोषीलाई पनि मृत्युदण्डको सजाय सुनाइएको छ, तर पीडितका केही साक्षीहरू त्यस समय उपस्थित नभएका कारण उनीहरूलाई मृत्युदण्ड दिइएन।

यसको एक दिनअघि तालिबानले आम मानिसहरूलाई सार्वजनिक रूपमा यो घटना हेर्न आउन नोटिस जारी गरेको थियो । यसमा मानिसहरूलाई खोस्तको केन्द्रीय स्टेडियममा भेला हुन भनिएको थियो ।

मंगल खानलाई मृत्युदण्डको सजाय दिइएपछि तालिबानको सर्वोच्च अदालतले प्रेस विज्ञप्ति जारी गरी घटनाको जानकारी दिएको छ । यसमा सार्वजनिक रूपमा किसास (ज्यानको बदला ज्यान) को सजायको रूपमा एक हत्यारालाई मारिएको बताइएको छ ।

अपराधी खान पकतिया प्रान्तका थिए र खोस्तमा बसिरहेका थिए । उनले खोस्तकै अब्दुल रहमान, साबित र अली खानको हत्या गरेका थिए । यस मामिलाको तालिबानका तीन अदालतहरू (प्राथमिक, अपीलीय र तमीज) ले धेरै सूक्ष्म रूपमा जाँच गरेका थिए । तीनै अदालतहरूले सर्वसम्मतिले ‘किसास’को आदेशलाई अनुमोदन गरेका थिए ।

यस आदेशलाई अन्तिम रूप दिन मौलवी हिबतुल्लाह अखुंदजादा (तालिबानका सर्वोच्च नेता) लाई पनि पठाइएको थियो, जसले आफ्नो स्वीकृति दिएका थिए । मृत्युदण्डको सजाय दिइएको ठाउँमा सर्वोच्च अदालतका मुख्य न्यायाधीश, खोस्तका राज्यपाल (गभर्नर), खोस्त अपीलीय अदालतका प्रमुख र अन्य सरकारी अधिकारी तथा ठुलो संख्यामा मानिसहरू उपस्थित थिए ।

प्रकाशित मिति: १७ मंसिर २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com