एजेन्सी । भारतको मध्य प्रदेशस्थित रिवा जिल्लामा एक युवकले आफ्नो पत्नीको हत्या गरेर फरार भएको घटना सार्वजनिक भएको छ। प्रारम्भिक अनुसन्धानका अनुसार पत्नीले मोबाइलमा पब्जी खेल्न छोडेर कामधन्दा गर्न दबाब दिएकै कारण विवाद चर्किँदै जाँदा हत्या भएको बताइएको छ।
भारतीय अनलाइन पत्रिका ललनटपका अनुसार गुढ थाना क्षेत्रअन्तर्गत गुढवा गाउँका रणजीतले आफ्नी पत्नी नेहा पटेलको घाँटीमा गम्छा बेरेर हत्या गरेका हुन्। रणजीत र नेहाको विवाह सन् २०२५ मे ५ मा भएको थियो। विवाहपछि रणजीतले दाइजोको माग गर्दै आए पनि नेहाका माइती पक्षले त्यो माग पूरा गर्न नसकेको जनाइएको छ। यही विषयलाई लिएर दम्पतीबीच बारम्बार झगडा हुने गरेको बताइएको छ।
रणजीत कुनै नियमित काममा संलग्न नभई दिनभर मोबाइलमा पब्जी खेल्ने लतमा फसेका थिए। यसप्रति नेहा असन्तुष्ट थिइन् र उनीहरूबीच यसै विषयमा पटक–पटक विवाद हुँदै आएको थियो। घटना भएको दिन पनि रणजीत अबेर रातिसम्म मोबाइलमै खेलिरहेका थिए। पत्नीले खेल छोडेर काम खोज्न आग्रह गरेपछि रणजीत आक्रोशित भई हिंसामा उत्रिएको बताइएको छ।
हत्या भएपछिसमेत घरका अन्य सदस्यहरू अर्को कोठामा रहेका कारण घटनाबारे थाहा पाएनन्। रणजीतले शव कोठामै छाडेर ढोका बाहिरबाट बन्द गरे र कसैलाई जानकारी नदिई फरार भए। पछि उनले नेहाकी दिदीका श्रीमान्लाई सन्देश पठाउँदै हत्या गरेको स्वीकारेको बताइएको छ।
हाल अभियुक्त रणजीत फरार छन्। प्रहरीले मृतकका माइती पक्षको बयान लिँदै सबै कोणबाट अनुसन्धान भइरहेको र अभियुक्तको खोजी तीव्र पारिएको जनाएको छ।
प्रकाशित मिति: १७ मंसिर २०८२, बुधबार












प्रतिक्रिया