काठमाडौं । नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंले देशका प्रमुख राजनीतिक व्यवस्थागत विषयमा जनमत सङ्ग्रह गर्न अन्तरिम सरकारसँग आग्रह गरेका छन्। वैदिक सनातन हिन्दु धर्म, राजसंस्था, प्रदेश खारेजी र प्रत्यक्ष कार्यकारी प्रणाली जस्ता मुद्दामा जनताको प्रत्यक्ष निर्णय आवश्यक रहेको उनीहरूको भनाइ छ।
प्रसाईंले लडाइँ वा द्वन्द्व होइन, जनमत सङ्ग्रह नै अन्तिम विकल्प भएको बताए। नेपाललाई जोगाउन सबै राजनीतिक पक्ष जिम्मेवार हुनुपर्ने भन्दै उनले गृहमन्त्री ओमप्रकाश अर्यालसँग भएको भेटमा मागप्रति सकारात्मक संकेत देखिएको जानकारी दिए।
उनका अनुसार आफ्ना मागहरू देश विभाजन गर्ने खालका नभएकाले पूरा हुनेमा आफू ६० प्रतिशत आशावादी छन्। तर, माग बेवास्ता भए आन्दोलन अनिवार्य बन्ने चेतावनी पनि उनले दिए।
भ्रष्टाचार नियन्त्रणमा अन्तरिम सरकार कमजोर रहेको आरोप लगाउँदै प्रसाईंले ‘जेनजी’ लाई टेक बनेको सरकारले अहिले उनीहरूलाई नै थुन्ने काम गरेको दाबी गरे। सरकार उल्टो दिशामा अघि बढिरहेको आरोप लगाउँदै उनले जेनजी समुहका विद्रोहीलाई थुन्न नहुने बताए।
राष्ट्रको हितका लागि सबैले आफूलाई साथ दिनुपर्ने आह्वान पनि प्रसाईंले गरे।
प्रकाशित मिति: १८ मंसिर २०८२, बिहिबार













प्रतिक्रिया