काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गरेकी छन्। बालुवाटारमा शुक्रबार आयोजित सर्वदलीय बैठकलाई सम्बोधन गर्दै उनले निर्वाचन आयोग, सुरक्षा निकाय र राज्यका सम्बन्धित संरचनाहरू चुनावका तयारीमा पूर्ण रूपमा तयार रहेको बताइन्।
प्रधानमन्त्री कार्कीले भने,चुनाव हुन्छ कि हुँदैन भनेर अब नसोचौँ। कसरी सफल पार्ने भन्नेमा सबै एकमत हुन्छौँ भने कसैले विघ्न पुर्याउन सक्दैन।
उनका अनुसार १२६ वटै दलले चुनाव आवश्यक भएको धारणा राख्नुपर्ने र एकताबद्ध स्ट्यान्डले मात्र राष्ट्रलाई स्थिरतामा लैजान सकिने छ।
सुरक्षाको सन्दर्भमा प्रधानमन्त्रीले जनतालाई नै पहिलो सुरक्षा कडीका रूपमा व्याख्या गर्दै प्रहरी, सशस्त्र र पूर्वसुरक्षा निकाय पनि पूर्ण सक्रिय रहेको जानकारी दिइन्। जेनजी आन्दोलनबाट आएको वर्तमान सरकार दलविरोधी नभएको स्पष्ट गर्दै उनले राजनीतिक दलको भूमिकालाई स्थापित गर्न चुनाव अनिवार्य भएको बताइन्।
सर्वदलीय बैठकमा सहभागी दलहरूले आफूहरू पनि निर्वाचनका लागि तयार रहेको धारणा व्यक्त गरेको प्रधानमन्त्रीको भनाइ थियो।
आजको भेला अत्यन्तै महत्त्वपूर्ण रह्यो। सबैको आवाज एउटै थियो—चुनाव हुनुपर्छ,उनले भनिन्।
प्रधानमन्त्रीले भदौ २३ र २४ का आन्दोलनले देशमा ठूलो परिवर्तन ल्याएको उल्लेख गरिन्। तिनै घटनाले परिस्थितिलाई नियन्त्रण गर्न नसक्दा निर्वाचित सरकार असफल भएको र त्यसपछि वर्तमान अन्तरिम सरकार व्यवस्थापनका लागि आएको प्रस्ट पारिन्।
जेनजीदेखि राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा निकाय र नागरिक समाजसँग निरन्तर संवाद भइरहेको पनि उनले बताइन्।
आगजनी र हिंस्रक गतिविधिप्रति चिन्ता व्यक्त गर्दै प्रधानमन्त्रीले भने,यस्ता घटनाले समाजमा दुष्प्रभाव पार्छन्। खराब तत्व रोक्ने सामर्थ्य समाजमै हुनुपर्छ।
काठमाडौंमा बढी क्षति भएको र ललितपुरमा जनताले नै विध्वंस रोकिदिएको उल्लेख गर्दै उनले आगामी दिनमा हिंस्रक स्थिति नबढोस् भनेर सबैले आत्मसमीक्षा गर्नुपर्नेमा जोड दिइन्।
अन्त्यमा उनले सरकार कुनै स्वार्थबिना केवल देशलाई स्थिरतामा डोर्याउने उद्देश्यले काम गरिरहेको समेत दोहोर्याइन्।
प्रकाशित मिति: १९ मंसिर २०८२, शुक्रबार













प्रतिक्रिया