मोरङ । १२ वर्षीया बालिकाको हत्या गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ। लेटाङ नगरपालिका–२ निवासी अंशु असोज २१ गतेदेखि बेपत्ता भएकी थिइन्। खोजीका क्रममा १८ दिनपछि कात्तिक ७ गते लेटाङ–२ अन्तर्गतको बेलबारी–चिसाङ सामुदायिक वन क्षेत्रमा उनको शव फेला परेको थियो।
शव अत्यन्तै क्षतविक्षत अवस्थामा भेटिएकाले प्रारम्भमा पहिचान गर्न कठिन भएको प्रहरीले जनाएको छ। घटनास्थल वरपर फेला परेका कपडा, हाफ पाइन्ट, चप्पल र घडीका आधारमा अंशुको पहिचान गरिएको थियो।
प्रहरीका अनुसार घटनामा संलग्न भएको आरोपमा छिमेकी ५८ वर्षीय पदमबहादुर अधिकारीलाई पक्राउ गरिएको छ। अनुसन्धानबाट उनले बालिकालाई प्रलोभनमा पारी घरबाट नजिकैको जंगलतर्फ लगेर हत्या गरेको संकेत भेटिएको प्रहरीले जनाएको छ।
घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), कोशी प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोली खटाइएको थियो। सोही टोलीले आवश्यक अनुसन्धान पूरा गरी आइतबार आरोपित अधिकारीलाई पक्राउ गरी सार्वजनिक गरेको हो।
प्रकाशित मिति: २१ मंसिर २०८२, आइतबार













प्रतिक्रिया