काठमाडौं । हाम्रो पार्टी नेपालका सभापति खगेन्द्र सुनारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको रिहाइका लागि आफू उनको सट्टा जेल बस्न तयार रहेको बताएका छन्।

आइतबार नख्खु कारागारमा लामिछानेसँग भेट गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सुनारले देशलाई रवि लामिछानेजस्तो नेतृत्वको आवश्यकता रहेको उल्लेख गर्दै कानुनले अनुमति दिने भए आफू जेल बसेर लामिछानेलाई रिहा गराउन इच्छुक रहेको बताए।

advertisement

उनले भने, ‘म निर्वाचन आयोगले प्रमाणपत्र दिएको पार्टीको सभापति हुँ। यदि कानुनअनुसार कसैलाई भित्र राखेर रवि लामिछानेलाई छोड्न मिल्छ भने म उहाँको सट्टा जेल बस्न तयार छु। मलाई भित्र राखेर रविलाई छोड्न मिल्छ भने छोड्न दिनुहोस्।’

सुनारले कांग्रेस र एमालेमाथि रवि लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध लिएको आरोप पनि लगाए। उनले देशको कानून र अदालतको कार्यशैलीप्रति प्रश्न उठाउँदै भने, ‘अदालतको कानूनले रवि लामिछानेलाई कारबाही गर्छ, तर त्यही कानूनले कांग्रेस-एमालेलाई किन नदेख्छ? यो कस्तो न्याय हो?’

उनले गगन थापा र आरजु रानादेखि अन्य राजनीतिक नेताहरूको कामकारबाहीबारे पनि निष्पक्ष छानबिन हुनुपर्ने माग गरे। उनले भने, ‘गगन थापा र आरजु देउवाहरूले गरेको भ्रष्टाचारबारे छानबिन हुनु पर्छ र उनीहरूले गरेका अपराधको जिम्मेवारी लिनुपर्छ।’

सुनारले आगामी निर्वाचन र देशको राजनीतिक भविष्यका लागि नयाँ तथा वैकल्पिक शक्तिहरू एक हुनुपर्नेमा जोड दिए। उनले फरक बाटोबाट भए पनि गन्तव्य एउटै रहेको तर्क गरे। ‘अहिले उहाँहरू बागमतीबाट बगिरहनुभएको छ, हामी कर्णालीबाट बगेका छौं। नदी दुई तिरबाट बगे पनि दोभानमा भेट हुन्छ र सागरमा पुग्ने बेला भेट हुन्छ,’ उनले भने।

सहकारी ठगी प्रकरणको विषयमा सुनारले भने कि यदि लामिछानेले साँच्चै स्वेच्छाले रकम अपचलन गरेका भए कानुनअनुसार कारबाही हुन्छ, तर हालको परिस्थिति फसाउने नियत देखिएको छ।

सुनारले ठूला दलका नेताहरूलाई लक्षित गर्दै भने, ‘ठगिएका मानिसहरू, सम्बन्ध विच्छेद गरेका श्रीमती लिएर पार्टीमा नाच्न पाउने, तर रवि लामिछानेलाई यसरी कारबाही गर्ने? यो असमान न्याय हो।’

देश संकटमा रहेको र जनतामा निराशा फैलिएको अवस्थामा सुनारले रवि लामिछाने जस्तो होनहार नेतृत्वको आवश्यकता रहेको बताए। साथै उनले जनता एकपटक “हत्यारा र भ्रष्टाचारी” हरूको अनुहार देखून् र अन्तिम चेतावनी दिन अपिल पनि गरे।

प्रकाशित मिति: २१ मंसिर २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com