काठमाडौं । श्रम संस्कृति पार्टीका सभापति तथा धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले आफ्नो पार्टीले आगामी चुनावमा विजयी भएर सरकार गठन गर्ने दाबी गरेका छन्।
काठमाडौंको सिफलमा आयोजित सभालाई सम्बोधन गर्दै साम्पाङले भने, ‘जेनजी आन्दोलनमा भएको तर खुलेर नबोलिएको एउटा सत्य के हो भने, हाम्रो विचार अनुसारको राज्य हुनु जरुरी छ। त्यसैले हामीले यो कुरा आफ्नो घोषणापत्रमै स्पष्ट रूपमा समावेश गरेका छौं।’
उनले थपे, ‘हामीले नै जित्छौं। कुनै शंका छैन। हामीले नै सरकार गठन गर्नेछौं।’
साम्पाङले आफ्नो नेतृत्वको सरकारले जेनजी आन्दोलनको मागअनुसार आयोग गठन गर्ने योजना रहेको पनि बताएका छन्। ‘जेनजीले के चाहन्थे भन्ने बुझ्न आयोग आवश्यक छ। ८० वर्षको पुस्ता र हालको युवा पुस्ताले के भनेको छ भनेर बुझ्नुपर्छ,’ उनले भने।
उनले यस अवसरमा आफ्नो पार्टीले ल्याउने योजनालाई देशको अग्रगामी विकासतर्फको ठुलो छलाङका रूपमा वर्णन गर्दै, आगामी दिनमा ठोस कदम चाल्ने दाबी पनि गरेका छन्।
प्रकाशित मिति: २२ मंसिर २०८२, सोमबार













प्रतिक्रिया