काठमाडौं । नेकपा एमालेले आगामी महाधिवेशनको उद्घाटन समारोहमा सहभागी गराउन विघटित प्रतिनिधिसभामा रहेका १६ दललाई औपचारिक निम्तो दिने तयारी गरेको छ। नयाँ दर्ता भएका दललाई भने निमन्त्रणा नपाउने भएका छन्।
यसक्रममा एमाले नेताहरूले आजै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई उनकाे निवासमै पुगेर निम्तो दिएका छन्। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि भेटेर निमन्त्रणामा समावेश गरिने एक एमाले नेताले जानकारी दिए।
एमालेको निम्तो सूचीमा विघटित संसद्मा प्रतिनिधित्व गरेका कांग्रेस, रास्वपा, राप्रपा, जसपा (दुई समूह), लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीलगायत दलहरू परेका छन्। रास्वपाका सभापति रवि लामिछाने कारागारमै रहेकाले निम्तो कार्यवाहक सभापति डिपी अर्याललाई पठाइनेछ।
संसद्मा नरहे पनि राप्रपा नेपालका अध्यक्ष कमल थापा, नेत्रविक्रम चन्द ‘विप्लव’ र मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीलाई समेत समारोहमा आमन्त्रण गर्ने तयारी छ।
तर, कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल, हर्क साम्पाङको श्रम संस्कृति र जनार्दन शर्माको प्रगतिशील नागरिक पार्टीजस्ता नयाँ दर्ता भएका दलहरूलाई भने एमालेले निम्तो नपठाउने बुझिएको छ।
प्रकाशित मिति: २३ मंसिर २०८२, मंगलबार












प्रतिक्रिया