काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान राजनीतिक प्रणालीभित्र रहेर चुनाव गराउँदै देश अगाडि बढाउन सकिन्छ भन्ने धारणा ‘पूर्णतः भ्रम’ भएको टिप्पणी गरेका छन्।

मंगलबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले हाल देखिएको असन्तोष केवल व्यक्तिको सत्ता परिवर्तनका कारण उत्पन्न भएको आन्दोलन होइन, त्यसका मागलाई नबुझी फेरि पुरानै ढाँचामा चुनावतर्फ जानु समाधानको बाटो नहुने स्पष्ट गरे।

advertisement

लिङ्देनले संसद् भवनदेखि न्यायालयसम्ममा देखिएको जनआक्रोश केवल कसैलाई सत्तामा राख्ने वा हटाउने उद्देश्यका लागि मात्र थिएन भन्दै त्यसलाई गम्भीर रूपमा सम्बोधन नगर्ने हो भने समस्याले अझ ठूलो रूप लिन सक्ने चेतावनी दिए।

उनका अनुसार राप्रपाले सरकार गठनको सुरुमै परिवर्तन आवश्यक विषयहरूबारे सुझाव दिएको थियो। “यो विद्रोह केवल व्यक्तिमात्र फेर्ने वा चुनाव अघि सार्ने विषय होइन, उनले भने, “सरकार बनाउने प्रक्रियासँगै निर्वाचन प्रणाली, राज्य संरचना, शासन प्रणाली र संवैधानिक पदहरूको नियुक्ति प्रक्रियाबारे टुंगो लाग्नैपर्छ।

जेनजी आन्दोलनले उठाएका मागहरूको समाधान नगरी फागुन २१ गते सोही पुरानै प्रणाली अन्तर्गत चुनावतर्फ लाग्नु समस्या टार्ने प्रयास मात्रै भएको उनले दोहोर्‍याए।

लिङ्देनले चेतावनी दिंदै भने, यो कदम समाधान होइन, समस्या अझ पर धकेल्ने हो। यसले देशलाई अझ ठूलो संकटतर्फ पनि लैजान सक्छ।

प्रकाशित मिति: २३ मंसिर २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com