काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई ७७ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ।
फाइनलमा पुग्नका लागि सुदूरपश्चिमले दिएको १ सय ५६ रनको लक्ष्य पछ्याएको विराटनगर १४.१ ओभरमा अलआउट हुँदै ७८ रनमा समेटिँदा सुदूरपश्चिमले फराकिलो जितसहित फाइनलमा स्थान बनायो।
विराटनगरका लागि फाफ डु प्लेसिसले ३६ रन बनाउनु सर्वाधिक रनका रुपमा रह्यो। थप दोहोरो स्कोरका रुपमा बसिर अहमदले १२ रन बनाउँदा मर्चेन्ट डि लङ्गले १५ रन बनाए।
सुदूरपश्चिमका लागि स्कट कुगलिङ्ग, हर्मित सिंह र अभिनाश बोहराले समान २-२ विकेट लिँदा हेमन्त धामी र दिपेन्द्र सिंह ऐरीले १-१ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५५ रन बनायो।
सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले सर्वाधिक ६३ रनको इनिङ्स खेले। उनले ५२ बलमा ३ चौका र २ छक्का प्रहार गरेका थिए। उनीबाहेक सेल्डन ज्याक्सनले २० रन बनाउँदा इशान पाण्डेले १३ रन तथा हर्मित सिंहिले १४ रन बनाउँदा आरिफ शेख २० रनमा आउट भए।
विराटनगरका लागि प्रतिश जिसी र मर्चेन्ट डि लङ्गले समान २-२ विकेट लिँदा सूर्य तामाङ र साम हेजल्टले समान १-१ विकेट लिए।
यसअघि समूह चरणको अन्तिम खेलमा सुदूरपश्चिम विराटनगरसँग ४९ बल बाँकी हुँदै ६ विकेटले पराजित भएको थियो।
अब विराटनगरले फाइनल पुग्नका लागि अर्को एउटा मौका पाउने छ। विराटनगरले काठमान्डु र लुम्बिनीबीचको विजेतासँग क्वालिफायर दुई खेल्ने छ।
प्रकाशित मिति: २३ मंसिर २०८२, मंगलबार













प्रतिक्रिया