बुटवल । बहुविवाहको मुद्दामा प्रहरीले नायब उपरीक्षक (डीएसपी) मधु नेपाललाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उनलाई नियन्त्रणमा लिएको हो। नेपाल हालै नवलपरासी पूर्वमा कार्यरत थिए।
जिल्ला प्रहरी प्रमुख एसपी प्रदीपबहादुर क्षेत्रीका अनुसार, डीएसपी नेपालमाथि उनकी पत्नीको उजुरीका आधारमा अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। त्यसपछि नेपाललाई पक्राउ गरी अनुसन्धानका लागि म्याद थप गरिएको छ।
एसपी क्षेत्रीले भने, ‘बहुविवाहको मुद्दा सार्वजनिक भएपछि उहाँ आफैँ हिजो साँझ उपस्थित हुनुभयो। पक्राउ गरेर अनुसन्धानको म्याद थप गरिएको छ। आवश्यक प्रमाण संकलन भइरहेको छ।’
प्रहरीका अनुसार, डीएसपी नेपालको दोस्रो श्रीमतीको खोजी कार्य जारी छ। यसअघि उनी बुटवलको वडा प्रहरी कार्यालयमा इन्चार्ज रहेका थिए।
यस्तै, उनी गाँजासम्बन्धी आर्थिक कारोबारमा संलग्न पाइएपछि विभागीय कारबाहीमा पनि परेका थिए।
प्रकाशित मिति: २४ मंसिर २०८२, बुधबार













प्रतिक्रिया