काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेन-जी आन्दोलनका अगुवा सुदन गुरुङ आफ्नो जेठो छोरा भएको बताएकी छन्।

बुधबार साँझ सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन-जी प्रतिनिधिहरूसँग १० बुँदे सम्झौता पत्रमा हस्ताक्षर गरेपछि सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।

advertisement

सम्बोधनका क्रममा निकै प्रधानमन्त्री कार्कीले आफूलाई युवा पुस्ताले ‘आमा’ मानेकोमा कृतज्ञता व्यक्त गरिन्। आन्दोलनको नेतृत्व गरेका सुदन गुरुङको प्रशंसा गर्दै उनले भनिन्, ‘जुन जेन-जी बाबु, छोराछोरी यहाँ दिनरात आएर खट्नुभयो, म सबैलाई धन्यवाद दिन्छु। हाम्रो सुदन गुरुङ मेरो जेठो छोरो हो, उसलाई पनि विशेष धन्यवाद दिन्छु।’

प्रधानमन्त्री कार्कीले आफू सरकारको प्रतिनिधि भए पनि सधैं युवा शक्तिकै पक्षमा रहेको स्पष्ट पारिन्। ‘म तपाईंहरू सबैको आमा हुँ। आर्यघाट नपुग्दासम्म आमा नै रहनेछु,’ उनले भनिन्, ‘तपाईंहरू मेरो सन्तान हो, छोराछोरी हो। म अर्को पक्ष होइन।’

प्रधानमन्त्री कार्कीले सरकार र जेनजीबीच भएको १० बुँदे सम्झौता देशका लागि ऐतिहासिक कोसेढुङ्गा भएको दाबी गरेकी छन्।

यो सम्झौता भोलि नै राजपत्रमा प्रकाशित हुने जानकारी दिँदै उनले यसले आगामी दिनको परिवर्तन र संविधान निर्माणलाई समेत मार्गनिर्देश गर्ने बताइन्।

‘यो एउटा बलियो डकुमेन्ट बनेको छ। अन्य समयमा भएका सम्झौताहरू जस्तै यो पनि एक ऐतिहासिक दस्तावेज हो,’ उनले भनिन्।

प्रधानमन्त्रीले आफू सरकारमा रहेसम्म आन्दोलनका शहीद र घाइतेहरूको पक्षमा काम गरिरहने प्रतिबद्धता समेत जनाइन्। उनले युवा शक्तिले देशमै रोजगार पाउनुपर्ने र देशकै नेतृत्व लिनुपर्ने आफ्नो चाहना रहेको बताइन्।

यसैबीच, प्रधानमन्त्रीको सम्बोधन लगत्तै केही जेन-जी प्रतिनिधिहरूले भने सरकारसँगको उक्त सम्झौता नमान्ने भन्दै आपत्ति जनाएका थिए।

कार्यक्रमस्थलमा केहीबेर विवाद समेत भएको थियो। सो क्रममा एक जना जेन-जी प्रतिनिधिले प्रधानमन्त्रीकै अगाडि सम्झौता पत्र च्यातेर विरोध प्रदर्शन गरेका थिए।

प्रधानमन्त्री कार्कीले भने एउटै दस्ताबेजमा सबैको माग पूरा हुन नसक्ने भन्दै सम्झौताको बचाउ गरेकी थिइन्।

प्रकाशित मिति: २४ मंसिर २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com