काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री सुशीला कार्कीलाई ‘सक्कली जेन–जी’ सँग संवाद गर्न खुलेआम चुनौती दिएका छन्। बुधबार सिंहदरबारमा भएको सम्झौतामा उनले ‘नाटक’को गन्ध आएको आरोप लगाउँदै प्रधानमन्त्रीको कडा आलोचना गरे।
सामाजिक सञ्जालमार्फत धारणा व्यक्त गर्दै शाहीले प्रधानमन्त्री कार्कीले आफैँले तयार पारेको समूहसँग नक्कली वार्ता गरेको दाबी गरे। उनका अनुसार वार्तामा सहभागीहरू ३६–३८ वर्ष उमेर समूहका देखिनु नै प्रधानमन्त्रीको योजनाबद्ध सेटअपको परिचायक हो।
शाहीले वास्तविक आन्दोलनकारी अहिले पनि अस्पतालमा उपचाररत रहेको उल्लेख गर्दै सरकारको उदासीनताप्रति प्रश्न उठाए।
‘यदि साँच्चिकै जेन–जीसँग वार्ता गर्न चाहनुहुन्छ भने प्रधानमन्त्रीज्यू, अस्पतालको शय्यामा गोली खाएर लडेका ती युवाहरूसँग संवाद गर्नुहोस्,’ उनले लेखे, ‘नत्र यो नाटक र चटक तुरुन्त बन्द गर्नुपर्छ।’
उनले रगत बगाउँदै सडकमा उत्रिएका वास्तविक युवाहरूको पीडा सम्बोधन गर्न सरकार अनिच्छुक देखिएको तर आफ्नै अनुकूल व्यक्तिहरूसँग सम्झौता गरेर जनतामा झुटो भ्रम फैलाउन खोजिएको आरोप लगाए।
प्रकाशित मिति: २५ मंसिर २०८२, बिहिबार













प्रतिक्रिया