बुटवल । कार्तिक १३ गतेदेखि लगातार पेशी तोकिँदै आएको रास्वपा सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको सहकारी ठगी मुद्दा आज पनि स्थगित गरिएको छ। न्यायाधीश तेजनारायण पौडेल र सागर विष्टको इजलासमा पर्ने यो मुद्दा “हेर्न नमिल्ने”मा राखिएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए।
आज न्यायाधीश सागर विष्टको आफन्त जाहेरवाला कानुन व्यवसायी परेका कारणले स्थगित गरिएको उनले बताए । बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका लामिछाने र जोशीको मुद्दा कार्तिक १३ गतेपछि निरन्तर स्थगित हुँदै आएको छ।
यसअघि पनि दुई पटक रविका कानुन व्यवसायीले निवेदन दिँदै सुनुवाइ सार्न अनुरोध गरेका थिए भने गत बिहीबार सार्वजनिक बिदाका कारण सुनुवाइ रोकिएको थियो। कात्तिक १३ गते तोकिएको पेशी छविलाल जोशीका कानुन व्यवसायीको निवेदनपछि स्थगित भएको थियो।
लामिछानेको मुद्दामा न्यायाधीश मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले छविलालको मुद्दासँग एउटै प्रकृतिको भएको कारण दुवै मुद्दा एकसाथ हेर्न आदेश दिइएको थियो।
सुप्रिम सहकारी प्रकरणमा लामिछानेले आफ्नो हिस्साको बिगो रकम दाखिला गरिसकेका भए पनि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उनलाई रिहा गर्न अस्वीकार गरेपछि उनी पुर्पक्षका लागि थुनामा छन्।
प्रकाशित मिति: २५ मंसिर २०८२, बिहिबार













प्रतिक्रिया