मन्त्री सन्तुको हर्कत:

आफू सभापति र छोरा मेयर बनाउन सन्तुको हर्कतले काङ्ग्रेसमा हलचल

पार्टीले कारवाही गरेका व्यक्तिको संरक्षण गर्दै कलवार, मन्त्रीलाई नै कारवाहीको माग उठ्यो



नवलपरासी । नेपाली कांग्रेसबाट लुम्बिनी प्रदेश सरकारमा मन्त्री रहेका देवकरण कलवार सन्तुले आफ्नो पारिवारिक स्वार्थका कारण नवलपरासी कांग्रेसमा भाँडभैलो मच्चाएको भन्दै पार्टी भित्र चर्को आलोचना भएको छ। आफ्नो व्यक्तिगत स्वार्थका लागि जिल्लामा सधैं गुट फेरिरहने उनको पछिल्लो कदमले जिल्लाका कांग्रेसीहरु अचम्मित भएका छन् ।

विगतमा आफूलाई बलियो साथ दिएका नेताहरुविरुद्ध नै भ्रम फैलाउन थालेको भन्दै उनि आलोचित हुँदै गएका छन्। अहिले पार्टीको केन्द्रीय अनुशासन विभागले कारवाही गरेका विक्रम खनाललाई प्रतिनिधिसभा उम्मेदवार बनाउन उनी कम्मर कसेर लागेका छन् । जबकी खनाल पार्टीको साधारण सदसयसमेत नरहने गरी कारवाहीमा परेका व्यक्ति हुन् ।

advertisement

नवलपरासी पश्चिम १ बाट निर्वाचित सांसद विनोद चौधरीको नाम क्षेत्रीय समितिले सर्वसम्मत सिफारिस गर्ने तयारी गरेको छ। तर, कलवार भने कांग्रेस सदस्य नै नरहेका खनालसँग साँठगाठ गरेर अनुशासनहीन हर्कत गरिरहेको भन्दै काङ्ग्रेस भित्र चर्को आलोचना सुरु भएको छ।

कांग्रेसका एक जिल्ला नेताका अनुसार कलवारलाई पार्टीको जिल्ला सभापति बनाउने र उनका छोरालाई मेयर बनाउने आश्वासन खनाल समूहले दिएको छ । यहि स्वार्थमा मन्त्री कलवार अहिले पार्टीलाई नै कमजोर बनाउने खेलमा दिलो ज्यान दिएर लागेको काङ्ग्रेसका जिल्ला नेताहरु बताउँछन् ।

‘कांग्रेसको सदस्य नै नरहेका व्यक्तिलाई कसरी उम्मेदवार बनाउन मिल्छ?’ एक नेताले भने, ‘अहिले खनालले उनलाई लोभ देखाएका छन्, त्यहि लोभमा परेर मन्त्री पार्टीमा अराजकता मच्चाउन खोजिरहेका छन् ।’

जबकि कलवार विगतमा खनाललाई कारवाही गर्न माग गर्दै पार्टीका शीर्ष नेताको घरदैलोमा धर्ना दिने देखि पार्टी कार्यालयमा निवेदन दर्ता गराउने व्यक्ति हुन् । उनै मन्त्री अहिले पार्टीबाट कारवाहीमा परेका खनाललाई बोक्न थालेपछि जिल्लाका कांग्रेस कार्यकर्ताहरु नै अचम्मित भएका छन् ।

नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पार्टीको कारवाहीमा परेका व्यक्तिको नाम सिफारिस नगर्न निर्देशन दिइसकेका छन् । पार्टीको कारवाहीसँगै लुम्बिनी प्रदेशको महामन्त्री पद पनि गुमाएका खनालका पक्षमा प्रदेशमन्त्री कलवारको अडान पार्टी अनुशासन विपरीत भएको कांग्रेसको भनाई छ ।

नेपाली कांग्रेसको अनुशासन विभागका संयोजक आनन्द ढुंगानाले पार्टीको कारवाहीको सूचीमा परेका व्यक्ति उम्मेदवार बन्नै नसक्ने दावी गरे । उनले भने, ‘कि त अनुशासन कारवाही फिर्ता भएको हुनुपर्छ नत्र त साधारण सदस्य नै नभएको व्यक्तिको नाम कसरी उम्मेदवारका लागि पार्टीबाट सिफारिस हुन्छ ? यो त अनुशासनहीन काम भयो नि ।’

प्रकाशित मिति: २५ मंसिर २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com