सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वामदेव गौतमले देशका ६४ लाख घरपरिवारमा पुगेर माफी माग्ने र तीन लाख सदस्यको आइटी आर्मी गठन गर्ने योजना सार्वजनिक गरेका छन्।

शनिबार प्रदेश राजधानी वीरेन्द्रनगरमा आयोजित पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्दै गौतमले जनसङ्ख्या र घरपरिवारको तथ्यांक उल्लेख गर्दै आफ्ना नेताहरूलाई भाषण मात्र होइन, घरदैलोमा पुगेर माफी माग्न आग्रह गरे। उनले भने, ‘हाम्रो देशमा ६४ लाख परिवार छन्, जहाँ २ करोड ९२ लाख जनसङ्ख्या बस्छ। यी सबै परिवारमा पुगेर माफी माग्नै पर्छ।’

advertisement

गौतमले नेकपा समाजवाद निर्माण गर्न असफल भए जेल जान पनि तयार रहेको बताउँदै विगतका गल्तीहरू स्वीकारे। ‘म तीन पटक उपप्रधान तथा गृहमन्त्री भएँ। तर नेपाल विकासशील बनेन। त्यसैले म आत्मालोचना गर्छु। सरकारमा रहँदा गर्नुपर्ने काम पूरा गर्न सकिनँ,’ उनले भने।

उनले देशको विकास नहुनेमा केवल अन्य पार्टीका नेताहरू मात्र होइन, नेकपा नेतृत्व पनि जिम्मेवार भएको स्वीकार गर्दै माफी मागे। ‘हामी सत्तामा हुँदा भन्नेजस्तै काम गर्न सकेनौँ। त्यसको लागि म तपाईंहरूसँग माफी माग्छु र भविष्यमा गल्ती दोहोर्याउने छैनौं,’ उनले बताए।

गौतमले पार्टी विरोधी गतिविधि नियन्त्रण गर्न तीन लाख सदस्यको आइटी आर्मी गठन गर्ने योजना पनि अघि सारे। उनले नेताहरूलाई मञ्चमै उक्त आर्मी छिटो गठन गर्न आग्रह गरे।

उनले फागुन २१ को निर्वाचनमा नेकपाले सरकार बनाउने दाबी गर्दै, पार्टीको भेलामा देखिएको जनसमर्थनको चर्चा गरे। ‘फागुन २१ को निर्वाचनबाट हामी सरकार बनाउन सक्ने क्षमताका साथ उपस्थित छौँ। अब सरकार बनाउने तयारीमा लाग्नुपर्दछ,’ उनले भने।

गौतमको सम्बोधन आक्रामक रह्यो। उनले नेताहरूलाई अब भाग्ने छुट नहुने र विगतका कमजोरीहरू स्वीकार गरेर जनतालाई भ्रममा नपार्न चेतावनी दिए। ‘जनतालाई ढाँट्नका लागि मात्र समाजवाद नभन्नुहोस्,’ उनले जोड दिए।

प्रकाशित मिति: २७ मंसिर २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com