काठमाडौँ। निजामती सेवाबाट अलग भई स्वायत्त संसद् सेवा गठन भएको सम्झनामा हरेक वर्ष मङ्सिर २८ गते अर्थात् आज विभिन्न कार्यक्रमका बीच सङ्घीय संसद् सेवा दिवस भव्यतापूर्वक मनाइँदैछ।
विसं २०५८ मा निजामती सेवाबाट छुट्टै ऐनमार्फत संसद् सेवा गठन भएको थियो। यस अवसरमा सङ्घीय संसद् सचिवालयले विविध कार्यक्रमहरूको आयोजना गरेको छ। नेपालको संविधानको धारा २०७ अनुसार सङ्घीय संसद्को कामकारबाही सञ्चालन र व्यवस्थापन गर्न एक सचिवालय रहने व्यवस्था छ, जसको स्थापना तथा सम्बन्धित अन्य व्यवस्था सङ्घीय कानुनअनुसार हुने व्यवस्था सुनिश्चित गरिएको छ।
निजामती सेवा ऐनबाट अलग पारेर छुट्टै ऐनद्वारा सञ्चालित संसद् सेवा विशिष्ट, स्वायत्त र व्यावसायिक सेवा हो। संसदीय अभ्यासलाई थप प्रभावकारी, मर्यादित र व्यावसायिक बनाउने उद्देश्यले प्रत्येक वर्ष मङ्सिर २८ गते संसद् सेवा दिवस मनाउने परम्परा रहेको छ।
राज्यको सर्वोच्च जनप्रतिनिधिमूलक संस्थाका रूपमा रहेको सङ्घीय संसद्लाई प्रशासनिक र प्राविधिक सहयोग पुर्याउने संसद् सेवाको भूमिका संविधानको सफल कार्यान्वयन र कानुन निर्माण प्रक्रियामा अत्यन्त महत्त्वपूर्ण छ।
सङ्घीय संसद् सचिवालयले संसद्लाई आवश्यक जनशक्ति, सूचना, प्रविधि र भौतिक स्रोत उपलब्ध गराउँदै आएको छ। संसद् सेवाको विशिष्ट कार्य प्रणालीले विधायिकी कार्य र संसदीय कामकारबाहीमा निरन्तर र प्रभावकारी सहयोग पुर्याउँदै आएको छ।
प्रकाशित मिति: २८ मंसिर २०८२, आइतबार













प्रतिक्रिया