काठमाडौँ। सङ्घीय संसद् सेवा दिवस २०८२ का अवसरमा उपसभामुखले सबैमा शुभकामना व्यक्त गर्दै बदलिँदो युगमा संसद् सेवाको प्रभावकारिता अझ सबल, छरितो र परिणाममुखी बनाउनु अपरिहार्य रहेको बताइन्।
उपसभामुख रानाले भन्नुभयो, “सांसदहरूले आफ्नो संवैधानिक दायित्व कुशलतापूर्वक निर्वाह गर्न सकून् भन्ने उद्देश्यले संसद् सेवाले कार्यसूची निर्माणदेखि कानुन निर्माण प्रक्रिया, बहस र निर्णयहरूको दर्ता–अभिलेख व्यवस्थापन, तथ्याङ्क उपलब्धता र सूचना प्रवाहसम्मका सबै काम गर्दै आएको छ। आजको सन्दर्भमा यसको थप प्रभावकारिताको आवश्यकता स्पष्ट छ।”
उहाँले सूचना प्रविधीमैत्री प्रणालीको विस्तार, डिजिटल अभिलेख व्यवस्थापन, इ–पार्लियामेन्ट प्रणाली, छरितो सूचना प्रवाह, नीतिगत निर्णयका लागि आवश्यक विश्लेषण र अनुसन्धानको प्रभावकारी प्रयोग, कर्मचारी क्षमता अभिवृद्धि, दक्ष जनशक्तिको आकर्षण र अन्तर्राष्ट्रिय स्तरको सिकाइ आदानप्रदानलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।
सङ्घीय संसद् संघीय लोकतान्त्रिक शासन व्यवस्थाको मेरुदण्ड र सरकारका कामकारबाहीमा निगरानी गर्ने जनप्रतिनिधिको सर्वोच्च संस्था भएको उल्लेख गर्दै उपसभामुख रानाले संसद्को भूमिकालाई अझ प्रभावकारी र परिणाममुखी बनाउनु आवश्यक रहेको स्पष्ट पार्नुभयो।
शुभकामना सन्देशमा भनिएको छ, “संसद्को प्रभावकारी सञ्चालनका लागि आवश्यक प्रशासनिक, प्राविधिक र व्यवस्थापकीय सहयोग प्रदान गर्नु संसद् सेवाको महत्त्वपूर्ण जिम्मेवारी हो। संसद्का पदाधिकारी, सदस्य तथा कर्मचारीले संसद् सेवाको गरिमा, मूल्य–मान्यता र कर्तव्यबोधलाई निरन्तर उच्च राख्दै कार्यसम्पादन गर्नुपर्छ।”
उपसभामुख रानाको विश्वास छ कि दिवसले सबैलाई संसद् सेवाको गौरवमय भूमिकाप्रति पुनः प्रतिबद्ध गराउनेछ र निकट भविष्यमा संसद्को सर्वोच्चता सुनिश्चित गर्दै जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने, पारदर्शी र जनअपेक्षाअनुरूप संसद् सेवा निर्माण हुने मार्ग तयार गर्नेछ।
प्रकाशित मिति: २८ मंसिर २०८२, आइतबार













प्रतिक्रिया