काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु हुनुअघि आइतबार बिहान भृकुटीमण्डपमा पार्टी केन्द्रीय समिति बैठक बसेको छ। बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलप्रति असन्तुष्टि जनाउँदै कडा टिप्पणी गरेका छन्।

अध्यक्ष ओलीले आत्मआलोचना र प्रतिवेदनको नाममा आफूविरुद्ध प्रहार गर्ने प्रयास भएको भन्दै त्यसप्रति आपत्ति जनाएका हुन्। उनले बाहिरका एजेन्डा बोकेर पार्टीभित्रैबाट आफूलाई कमजोर बनाउने प्रयत्न भइरहेको आरोप समेत लगाए। तत्कालीन प्रधानमन्त्रीको हैसियतमा आफूलाई कारबाही गर्नुपर्ने माग उठाइनु अस्वाभाविक भएको भन्दै त्यस किसिमका कुरा विपक्षी दल वा सञ्चारमाध्यमले समेत नगरेको अवस्थामा आफ्नै नेताहरूले दस्तावेजमा समेट्नु आपत्तिजनक भएको उनले बताए।

advertisement

वरिष्ठ उपाध्यक्ष पोखरेलले जेन–जी आन्दोलनका सन्दर्भमा गठन गरिएको छानबिन समितिमा ओलीले बयान दिनुपर्ने तथा दोषी ठहरिए कारबाही हुनुपर्ने सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन्। यसै विषयलाई लिएर अध्यक्ष ओलीले बैठकमा असन्तुष्टि व्यक्त गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए।

आन्तरिक मतभेदका बाबजुद आफू भाग्यमानी नेता भएको दाबी गर्दै ओलीले नेतृत्व र कार्यकर्ताबाट असाधारण सहयोग पाएको उल्लेख गरे। ‘म भाग्यमानी नेता हुँ, पार्टी पंक्ति र कार्यकर्ताबाट ठूलो साथ पाएको छु,’ उनले भनेको ती नेताले बताए।

बैठकमा अध्यक्ष ओलीले महाधिवेशनको प्रक्रिया र पार्टी कमिटीको हैसियतबारे पनि प्रस्ट पारे। नयाँ नेतृत्व चयन भई शपथग्रहण नहुँदासम्म सबै पदाधिकारी तथा सदस्यहरू केन्द्रीय कमिटी सदस्यकै हैसियतमा रहने उनले स्पष्ट गरे।

यसैगरी, महाधिवेशनको बन्दसत्र सञ्चालनका लागि गठन हुने अध्यक्षमण्डलको अध्यक्षता पार्टी अध्यक्ष स्वयंले गर्ने जानकारी समेत ओलीले बैठकमा गराएका छन्।

प्रकाशित मिति: २८ मंसिर २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com