काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संघीय संसदलाई सीमित र कमजोर बनाउने प्रयास भइरहेको आरोप लगाएका छन्। संघीय संसद् सचिवालयको दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले संसद् विघटनको औचित्यमाथि समेत प्रश्न उठाए।
सभामुख घिमिरेका अनुसार प्रतिनिधिसभा विघटन गर्ने कुनै ठोस सान्दर्भिकता नरहेको भन्दै यसलाई संसदीय व्यवस्थामाथिको प्रहारका रूपमा व्याख्या गरे। पछिल्लो समय सरकारले संसद् र संसद् सचिवालयमाथि आर्थिक तथा प्रशासनिक रूपमा अदृश्य बन्देज लगाउने प्रयास गरिरहेको उनको आरोप छ।
कार्यक्रममा उनले संसद् सचिवालयका कर्मचारीहरूको सेवा, सुविधा र दरबन्दी कटौती गर्ने सरकारी निर्णयप्रति पनि असन्तुष्टि जनाए। संघीय संसद्लाई सरकारअन्तर्गतको कुनै शाखा सरह व्यवहार गर्नु संविधानको मर्मविपरीत हुने उनले बताए।
‘संसद् सरकारको मातहतमा रहने संस्था होइन,’ सभामुख घिमिरेले भने, ‘२७ भदौमा संसद् विघटन गरिएको विषयको कुनै प्रत्यक्ष सान्दर्भिकता देखिँदैन। यस्तो कदम संसदीय प्रणालीमाथिको आघात हो।’
सभामुख घिमिरेले संसद् सचिवालयसम्बन्धी सेवा, सुविधा र संरचनामा गरिएको कटौती तत्काल फिर्ता लिन सरकारसँग आग्रह गर्दै संघीय संसद्को स्वायत्तता र गरिमाको संरक्षण गर्नुपर्नेमा जोड दिए।
प्रकाशित मिति: २८ मंसिर २०८२, आइतबार












प्रतिक्रिया