काठमाडौँ । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानसँग औपचारिक वार्ता गर्न सरकारले विशेष समिति गठन गरेको छ। आइतबार प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले महाअभियानसँग संवाद र समस्या समाधानका लागि आन्तरिक सहजीकरण तथा समस्या समाधान समिति गठन गरिएको जनाएको हो।
प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठका अनुसार महाअभियानले उठाएका तत्काल सम्बोधन गर्न सकिने विषय तथा मागहरूमा केन्द्रित भएर वार्ता अघि बढाउन समिति बनाइएको छ।
समितिको संयोजकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल रहेका छन् भने सदस्यका रूपमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकार गोविन्द नारायण तिमिल्सिना रहेका छन्।
सरकारले वार्तालाई प्रभावकारी बनाउन महाअभियानतर्फबाट पनि तीन जना प्रतिनिधि सिफारिस गरी पठाउन आग्रह गरेको छ। यसअघि प्रधानमन्त्री कार्की र महाअभियानका पदाधिकारीबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मंसिर २२ गते छलफल भएको थियो। सो छलफलमा पुस २ गते पुनः बैठक बस्ने सहमति समेत भएको जनाइएको छ।
प्रकाशित मिति: २८ मंसिर २०८२, आइतबार













प्रतिक्रिया