काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनमा अध्यक्ष पदका प्रमुख दाबेदार केपी शर्मा ओली र ईश्वर पोखरेल आ–आफ्नो टिम निर्माणमा सक्रिय देखिएका छन् । ओली समूहका नेताहरू भक्तपुरको गुण्डुमा भेला भएर निरन्तर छलफलमा जुटिरहेका छन् । यद्यपि केही दिनदेखि छलफल जारी रहे पनि टिम निर्माणमा अझै पूर्ण सहमति जुट्न सकेको छैन । विशेषगरी महासचिव पदमा सहमति जुटाउन ओली समूहलाई कठिनाइ भइरहेको छ ।

advertisement

तर माओवादी पृष्ठभूमिबाट एमालेमा आएका रामबहादुर थापा ‘बादल’ र लेखराज भट्टलाई भने पदाधिकारीमा निरन्तरता दिनेमा सहमति भइसकेको छ । थापालाई उपाध्यक्षमै कायम राख्ने र भट्टलाई सचिवमै निरन्तरता दिने तयारी छ । भट्टले उपमहासचिवमा दाबी नगरेकाले सचिवमा रहने लगभग निश्चित भएको बताइन्छ ।

ओलीले उपाध्यक्ष पदमा केही नयाँ अनुहार समेट्ने तयारी गरेका छन् । अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे ओली टिममा नरहेपछि ती रिक्त पदमा नयाँ नेताहरू ल्याउने अवसर खुलेको हो । हालका उपाध्यक्षमध्ये विष्णु पौडेल, रामबहादुर थापा र गुरु बरालले निरन्तरता पाउने सम्भावना रहेकाले थपिने उपाध्यक्ष स्वतः नयाँ हुनेछन् । ती नयाँ उपाध्यक्षका रूपमा पृथ्वीसुब्बा गुरुङ, शंकर पोखरेल र प्रदीप ज्ञवालीमध्येबाट छनोट हुने चर्चा छ ।

तर यी तीनै जना महासचिव पदका दाबेदार भएकाले महासचिवमा एक जनाको नाम टुंगिएपछि बाँकी दुई जनालाई उपाध्यक्षमा समायोजन गर्नुपर्ने अवस्था देखिन्छ । अध्यक्ष ओली महासचिवमा शंकर पोखरेललाई नै निरन्तरता दिन इच्छुक देखिन्छन् । पोखरेल पनि पुरानै संरचनाअनुसार अघि बढ्ने पक्षमा लविङ गरिरहेका छन् । तर गुरुङ र ज्ञवालीको दाबीका कारण पोखरेल दबाबमा परेका छन् । अन्ततः गुरुङ र ज्ञवाली उपाध्यक्षमा जाने सम्भावना बढी रहेको ओलीनिकट स्रोतको भनाइ छ ।

यद्यपि पोखरेल चुनावी प्रतिस्पर्धामा कमजोर पर्न सक्ने चिन्ता ओली समूहमै देखिएको छ । पोखरेल समूहबाट सुरेन्द्र पाण्डे महासचिवको उम्मेदवार बन्ने सम्भावना रहेको बताइन्छ । उपाध्यक्ष पद छाडेर पाण्डे महासचिवको दौडमा उत्रिएपछि पोखरेल थप दबाबमा परेको ओलीनिकट नेताहरूको भनाइ छ । पछिल्ला दिनमा पोखरेलको छवि पार्टीभित्र नै कमजोर बन्दै गएको र त्यसको असर निर्वाचन परिणाममा पर्न सक्ने टिप्पणी महाधिवेशन प्रतिनिधिहरूले गरिरहेका छन् ।

यसैबीच पोखरेल र विष्णु पौडेलबीचको गुटगत प्रतिस्पर्धा पनि महाधिवेशनमा पुनः सतहमा आउने सम्भावनाबारे एमालेभित्र चर्चा छ । नवौँ महाधिवेशनमा उपमहासचिव पदमा ओली समूहबाट उम्मेदवार बनेका पौडेल र पोखरेलमध्ये पोखरेल पराजित भएका थिए । यसपटक उपमहासचिवमा विष्णु रिमालले निरन्तरता पाउने सम्भावना देखिए पनि उनी पनि पछिल्ला दिनमा लोकप्रिय छैनन् । ओली, पोखरेल र रिमाल तुलनात्मक रूपमा लोकप्रियता गुमाएका नेतामा गनिन्छन् । त्यसैले पोखरेल र रिमाल महाधिवेशनमा ‘डेन्जर जोन’मा रहेको चर्चा महाधिवेशनस्थलमै चलिरहेको छ ।

यही अवस्थालाई ध्यानमा राख्दै अध्यक्ष ओलीले सबैलाई जिताउने रणनीति बनाउन सक्ने बताइन्छ । त्यस्तो अवस्थामा प्रदीप ज्ञवाली महासचिवको उम्मेदवार बन्ने सम्भावना पनि चर्चामा छ ।

सचिव पदमा भने ओली पक्षबाट दुई दर्जनभन्दा बढी नेताहरूको दाबी भएपछि व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । सचिवका दाबेदारमा भानुभक्त ढकाल, शेरधन राई, हिक्मत कार्की, भगवती चौधरी, लीलानाथ श्रेष्ठ, ज्वालाकुमारी साह, खगराज अधिकारी, किरण गुरुङ, यामलाल कँडेल, गोरख बोगटी, खिमलाल भट्टराई, राजन भट्टराई, माधव ढुंगेल, महेश बस्नेतलगायत रहेका छन् । तीमध्ये महेश बस्नेत र खगराज अधिकारीलाई अघि बढाउनेमा ओली लगभग सहमत भइसकेको बताइन्छ ।

उता पोखरेल समूहले महासचिवमा सुरेन्द्र पाण्डेलाई अघि सार्ने तयारी गरिरहेको छ । महासचिवका दाबेदार गोकर्ण विष्ट र योगेश भट्टराईले पाण्डेका लागि दाबी छोड्ने सम्भावना रहेको स्रोतको भनाइ छ । विष्ट उपाध्यक्ष र भट्टराई उपमहासचिव बन्ने अनौपचारिक सहमति भएको बताइन्छ । उपमहासचिवमा पोखरेल समूहले विन्दा पाण्डेलाई पनि अघि सार्न सक्ने सम्भावना छ । सचिवमा भने कर्ण थापा, विनोद ढकाल, रचना खड्का, गोकुल बाँस्कोटालगायतलाई अघि सार्ने तयारी गरिएको छ ।

हाल दुवै समूहका नेताहरू आन्तरिक छलफलमा व्यस्त छन् । पोखरेल समूह थापा गाउँस्थित विद्या भण्डारीको सम्पर्क कार्यालयमा छलफलमा जुटेको छ भने ओलीनिकट नेताहरू गुण्डुस्थित ओली निवासमा बैठक गरिरहेका छन् ।

प्रकाशित मिति: २९ मंसिर २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com