काठमाडौं । ऊर्जा, जलस्रोत तथा भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङले जेन–जी युवाहरूका माग सम्बोधन गर्न सरकार असफल भए वर्तमान सरकारको औचित्यमाथि गम्भीर प्रश्न उठ्ने चेतावनी दिएका छन्।

उज्यालो नेपाल पार्टीद्वारा काभ्रेमा आयोजित जिल्ला भेलामा जेन–जी प्रतिनिधिहरूले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै मन्त्री घिसिङले जेन–जी आन्दोलन सरकारसँग भएको औपचारिक सम्झौतापछि जनआन्दोलनको मान्यता प्राप्त गरिसकेको बताए।

advertisement

वर्तमान सरकार जेन–जी आन्दोलनपछिको राजनीतिक परिस्थितिमा गठन भएको उल्लेख गर्दै उनले आन्दोलनमा सहभागी भएकै आधारमा कसैलाई पनि प्रहरीले दुःख दिने, धरपकड गर्ने वा प्रताडित गर्ने कार्य भए त्यसले सरकारकै वैधता र औचित्यमाथि प्रश्न उठ्ने स्पष्ट पारे।

सोमबार युवाहरूले काभ्रेमा बुझाएको ज्ञापनपत्रमा समेटिएका अधिकांश मागहरू सरकारसँगको सम्झौतामै समावेश भइसकेको र बाँकी विषयहरू कार्यान्वयनको चरणमा रहेको जानकारी पनि मन्त्री घिसिङले दिए।

उज्यालो नेपाल पार्टीको अघोषित नेतृत्व गरिरहेका घिसिङले पार्टीका नेता तथा कार्यकर्तालाई दिन–रात नभनी सक्रिय भएर ‘उज्यालो काभ्रे’ निर्माणको अभियानमा जुट्न आग्रह गरे।

‘समय कम छ तर असम्भव छैन,’ उनले भने, ‘अब प्रश्न वर्तमान सरकार मात्र होइन, निर्वाचनपछि बन्ने सरकार कस्तो हुन्छ भन्ने हो। आगामी सरकारको नेतृत्व उज्यालो नेपाल पार्टीले गर्नुपर्छ।’

यसअघि जेन–जी आन्दोलनमा सहभागी भएकै वा सहभागी नभएकै आधारमा प्रहरीले दुःख दिने, धरपकड गर्ने र झुटा मुद्दामा फसाउने कार्य भइरहेको भन्दै त्यसको अन्त्य नभए पुनः जेन–जी युवाहरू आन्दोलनमा उत्रिने चेतावनीसहित पनौती नगरपालिका–२ का श्याम तिमल्सिनाले ज्ञापनपत्र बुझाएका थिए।

हाल उज्यालो नेपाल पार्टीबाट काभ्रे जिल्लामा चार जना केन्द्रीय सदस्य रहेका छन्। सोमबार नै जिल्लास्तरीय कार्यसमिति गठन गर्ने कार्यक्रमसमेत रहेको जनाइएको छ।

प्रकाशित मिति: २९ मंसिर २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com