काठमाडौं । नेकपा एमालेको नेतृत्व चयन प्रक्रिया तीव्र बन्दै जाँदा अध्यक्ष केपी शर्मा ओली समूहमा आन्तरिक विभाजन देखिएको छ। आफूले अपेक्षा गरेको पदाधिकारी नपाएपछि चार जना प्रभावशाली नेताले ओलीको साथ छाडेका छन्।
निवर्तमान ओली नेतृत्वको सरकारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रहेका रघुजी पन्त, प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, नेता कृष्णगोपाल श्रेष्ठ र गोकुल बास्कोटा ओली समूहबाट अलग भएका हुन्। उनीहरू सबैले अब अध्यक्षका अर्का प्रत्याशी ईश्वर पोखरेल समूहमा रहेर उम्मेदवारी दिने तयारी गरेका छन्।
ओली समूहबाट महासचिव पदका आकांक्षी प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी नदिई महाधिवेशनस्थल छाडेको एमाले स्रोतको भनाइ छ। उता, पदाधिकारी सूचीमा नपरेपछि रघुजी पन्त ईश्वर पोखरेल प्यानलबाट उपाध्यक्ष पदका लागि चुनावी मैदानमा उत्रिएका छन् र उनले उम्मेदवारी दर्ता गरिसकेका छन्।
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले ओली समूहबाट सचिव पद नपाएपछि स्वतन्त्र रूपमा उपमहासचिव पदमा उम्मेदवारी दर्ता गरेका छन्। उनले अब स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गर्ने बताएका छन्।
लामो समय ओलीका निकट मानिएका कृष्णगोपाल श्रेष्ठले आफूलाई अपमान र अन्याय भएको आरोप लगाउँदै पोखरेल समूहबाट सचिव पदमा उम्मेदवारी दिएका छन्। यस्तै, पहिले नै ओली समूहबाट अलग भइसकेका गोकुल बास्कोटाले पनि पोखरेल समूहबाट सचिव पदमा उम्मेदवारी दर्ता गरेका छन्।
यससँगै एमाले अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने अवस्था स्पष्ट भएको छ। पार्टी नेतृत्व चयनको प्रक्रियाले एमालेभित्रको आन्तरिक राजनीतिक समीकरण थप रोचक बन्दै गएको छ।
प्रकाशित मिति: २९ मंसिर २०८२, सोमबार












प्रतिक्रिया