काठमाडौं । नेकपा एमालेकी नेता तथा पूर्व शिक्षामन्त्री विद्या भट्टराईले जारी महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने स्पष्ट पारेकी छन्। पार्टीमा आफू आवश्यकताका आधारमा आएको र पार्टीबाट पाउने सम्मान तथा मर्यादा “प्रशस्त रूपमा पाइसकेको” भन्दै उनले अब नयाँ पुस्तालाई अवसर दिनु उपयुक्त ठानेको बताइन्।
भट्टराईले आफू प्यानलमा आबद्ध भएर चुनाव लड्न इच्छुक नभएको उल्लेख गर्दै भनिन्, “पहिलो कुरा, म पार्टीभित्र साझा खालको व्यक्ति हुँ। प्यानलमा लागेर चुनाव लड्न मन लागेन। साझा भएर काम गर्न मन लाग्ने रहेछ।”
उनले थपिन्, “दोस्रो कुरा, म एउटा आवश्यकताले पार्टीमा आएको थिएँ। पार्टीले मलाई दिने मर्यादा र सम्मान मैले पाइसकेको छु। अब नयाँ साथीहरू अघि आउनुहुन्छ भन्ने लाग्यो, त्यसैले महाधिवेशनमा चुनाव नलड्ने निर्णय गरेँ।”
एमाले नेता रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि भट्टराई उपनिर्वाचनमार्फत पुनः सक्रिय राजनीतिमा फर्किएकी थिइन्। प्राज्ञिक तथा अनुसन्धानको क्षेत्रमा सक्रिय रहँदै आएकी उनी उक्त उपनिर्वाचन जितेर प्रतिनिधिसभा सदस्य बनेकी थिइन्। त्यसपछि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि उनी कास्कीबाट विजयी भएकी थिइन्।
केपी शर्मा ओली प्रधानमन्त्री रहँदा आफ्नै पार्टी नेतृत्वबाट असहयोग खेपेको बताइने भट्टराईलाई यस महाधिवेशनमा ईश्वर पोखरेल पक्षले सचिव पदका लागि उम्मेदवार बनाउने प्रस्ताव गरेको थियो। तर उनले उक्त प्रस्ताव अस्वीकार गरेकी थिइन्।
आगामी प्रतिनिधिसभा निर्वाचनमा पनि उम्मेदवार नबन्ने संकेत गर्दै भट्टराईले भनिन्, “पार्टीभित्र त्यसबारे औपचारिक छलफल हुन बाँकी नै छ। तर मैले दुई पटकभन्दा बढी चुनाव नलड्ने कुरा पहिलेदेखि नै भन्दै आएको छु।”
अब आफू सक्रिय राजनीतिभन्दा बाहिर रहेर अनुसन्धान, अध्ययन र नयाँ चिन्तन प्रणालीको विकासमा केन्द्रित हुने उनको भनाइ छ।
प्रकाशित मिति: २९ मंसिर २०८२, सोमबार













प्रतिक्रिया