काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पार्टी अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीको नेतृत्वमा रहेको प्यानललाई निर्णायक मतका साथ विजयी बनाउन महाधिवेशन प्रतिनिधिहरूलाई आह्वान गरेका छन्।
आज नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेको सन्दर्भ उल्लेख गर्दै ज्ञवालीले यो महाधिवेशन पार्टीको आन्तरिक संगठनात्मक भविष्य मात्र नभई राष्ट्रिय राजनीतिका लागि पनि महत्वपूर्ण रहेको बताएका छन्। उनले वर्तमान परिस्थितिमा ओली नेतृत्वको टिमलाई बलियो जनादेश आवश्यक रहेको धारणा राखेका छन्।
ज्ञवालीले यस पटक आफू पार्टी केन्द्रीय कमिटी सदस्य पदका लागि उम्मेदवार बनेको जानकारी दिँदै प्रतिनिधिहरूको समर्थन प्राप्त हुने विश्वास व्यक्त गरेका छन्। पार्टीभित्र एकता, स्थायित्व र स्पष्ट राजनीतिक दिशा कायम गर्न ओलीको नेतृत्व आवश्यक रहेको उनको भनाइ छ।
सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै ज्ञवालीले आफू सधैं पार्टी पंक्तिकै बीचमा रहने प्रतिबद्धता जनाएका छन्। साथै, उनले मतदाताबाट मन र मत दुवै पाउने आशा व्यक्त गर्दै महाधिवेशन प्रतिनिधिहरूलाई ओली प्यानलको पक्षमा मतदान गर्न आग्रह गरेका छन्।
प्रकाशित मिति: १ पुस २०८२, मंगलबार













प्रतिक्रिया