काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले तोकिएको समयमै निर्वाचन सम्पन्न नगरे सरकारको औचित्य समाप्त हुने चेतावनी दिएका छन्।
मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै नेता पुनले संविधानले सरकारलाई निश्चित अवधिभित्र निर्वाचन गराउने स्पष्ट म्यान्डेट दिएको उल्लेख गरे। संविधानअनुसार छ महिनाभित्र निर्वाचन गराउनुपर्ने दायित्व रहेकाले निर्धारित मितिमा निर्वाचन नहुने हो भने सरकारको वैधानिकता र औचित्यमाथि प्रश्न उठ्ने उनको भनाइ थियो।
उनले निर्वाचनको मिति सार्न सकिन्छ भन्ने धारणा निराधार रहेको दाबी गर्दै समयमै निर्वाचन गरिनु नै वर्तमान राजनीतिक संकटबाट मुलुकलाई निकास दिने एकमात्र उपाय भएको बताए।
अर्थतन्त्रका विषयमा बोल्दै पुनले सरकार पुँजीगत खर्च बढाएर अर्थतन्त्रलाई चलायमान बनाउन गम्भीर हुनुपर्नेमा जोड दिए। साथै, जेनजी आन्दोलनका कारण क्षति पुगेका निजी क्षेत्रका उद्योग र व्यवसायलाई राहत दिन सरकार तत्काल पहल गर्नुपर्ने आवश्यकता औंल्याए।
प्रकाशित मिति: १ पुस २०८२, मंगलबार













प्रतिक्रिया