काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले संविधान र लोकतान्त्रिक मूल्यअनुसार मुलुकलाई सुरक्षित रूपमा अघि बढाउने सबैभन्दा भरोसायोग्य माध्यम निर्वाचन नै भएको स्पष्ट पारेकी छन् ।
ललितपुर महानगरपालिकाको १०७औँ स्थापना दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले निर्वाचनमार्फत मात्रै संविधानसम्मत शासन प्रणालीलाई मजबुत बनाउन सकिने बताइन् । उनले भनिन्, लोकतन्त्र, सुशासन र संविधानको रक्षा गर्दै मुलुकलाई सही दिशामा लैजान हाम्रो सामु रहेको एकमात्र विकल्प निर्वाचन हो।
प्रधानमन्त्री कार्कीले आगामी २१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न सरकार दृढ संकल्पका साथ तयारीमा जुटिरहेको जानकारी दिइन् । सरकारले आवश्यक प्रशासनिक, कानुनी र सुरक्षा तयारीलाई तीव्रता दिएको उनको भनाइ थियो ।
निर्वाचनबाट अभिव्यक्त हुने नयाँ जनमतअनुसार सत्ता हस्तान्तरण गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले जनताको निर्णयलाई सम्मान गर्ने वातावरण निर्माण गर्नु सरकारको दायित्व भएको बताइन् ।
निर्वाचन स्वच्छ, निष्पक्ष, कम खर्चिलो र भयरहित बनाउन सबै पक्षको सहकार्य आवश्यक छ, प्रधानमन्त्री कार्कीले भनिन्, यसमा सबै नागरिकको सकारात्मक भूमिका अपेक्षित छ।
२३–२४ भदौमा भएको जेनजी आन्दोलनपछि देशमा नयाँ राजनीतिक परिस्थिति बनेको उल्लेख गर्दै उनले वर्तमान सरकार सुशासन र निर्वाचनलाई मुख्य प्राथमिकतामा राखेर अघि बढिरहेको बताइन् ।
प्रधानमन्त्री कार्कीले समाजमा अराजकता, हिंसा र कानुनविपरीतका गतिविधि सह्य नहुने स्पष्ट पार्दै यस्ता क्रियाकलाप नियन्त्रण गर्न सुरक्षा निकाय सक्रिय रहेको जानकारी दिइन् । साथै, शान्ति र स्थायित्व कायम राख्न समुदायस्तरबाट पनि जिम्मेवार भूमिका आवश्यक रहेकोमा उनले जोड दिइन् ।
अराजकता र खराब प्रवृत्तिविरुद्ध सरकार मात्र होइन, समाजकै सामूहिक प्रयास आवश्यक छ, उनले भनिन्, आउनुहोस्, शान्ति र लोकतन्त्रको पक्षमा सबै मिलेर अघि बढौँ।
प्रकाशित मिति: २ पुस २०८२, बुधबार













प्रतिक्रिया