काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार फागुन २१ मा निर्वाचन गराउन इच्छुक नभएको हो कि भन्ने आशंका व्यक्त गरेका छन्।

बुधबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उपत्यका छाड्न नदिने निर्णयप्रति प्रश्न उठाउँदै सरकारको नियतमाथि शंका गरे। उनका अनुसार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले फागुन २१ को निर्वाचनमा सहभागी हुने निर्णय गरिसकेको भए पनि चुनावका लागि आवश्यक शान्ति सुरक्षा सरकारले सुनिश्चित गर्न सकेको छैन।

advertisement

कोइरालाले भने, “हामी चुनावमा भाग लिने निर्णयमा छौं तर पाँच हजारभन्दा बढी कैदी अझै फरार छन्, लुटिएका हतियार फिर्ता भएका छैनन् र एउटा पार्टीका अध्यक्षलाई उपत्यका नछाड्न निर्देशन दिइएको छ। यस्तो अवस्थामा कसरी निष्पक्ष चुनाव हुन्छ? सरकार वास्तवमै चुनाव गराउन चाहन्छ कि चाहँदैन भन्ने डर लाग्न थालेको छ।”

उनले कांग्रेसको महाधिवेशन निर्वाचनअघि हुने र नयाँ कार्यसमितिले टिकट वितरण गर्ने बताए पनि चुनाव कहिले हुन्छ भन्नेमा अझै स्पष्टता नभएको उल्लेख गरे। “म चुनाव हुन्छ भन्नेमा विश्वस्त हुन चाहन्छु, तर सरकारले कस्तो चुनाव गराउन खोजेको हो? नेताहरूमाथि स्थानहद लगाइएको छ,” उनले भने।

भदौ २३ र २४ मा भएको जनजी प्रदर्शनका क्रममा सरकारको दमनबाट देशभर ७६ जनाको मृत्यु भएको थियो, जसमा ४५ जनालाई सरकारले सहिद घोषणा गरेको छ। त्यस घटनाको छानबिनका लागि गठन गरिएको गौरीबहादुर कार्की नेतृत्वको आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई उपत्यका छाड्न रोक लगाएको छ। आयोगले उनीहरूलाई बयानका लागि बोलाउने तयारी गरिरहेको छ, तर ओलीले बयान नदिने बताउँदै आएका छन्।

छानबिन आयोगले लगाएको स्थानहदकै कारण निर्वाचनको सम्भावनामाथि थप शंका पैदा भएको कोइरालाले बताए। साथै, निर्धारित मितिमा चुनाव सम्पन्न नभए विघटित संसद पुनःस्थापनाको माग अघि बढ्ने चेतावनी पनि उनले दिए।

“यदि चुनाव भएन भने संसद पुनःस्थापनाको माग बलियो हुन्छ। संविधान पहिले नै केही डिरेल भइसकेको छ, चुनाव नहुँदा झनै संकट गहिरिन सक्छ,” कोइरालाले चेतावनी दिए।

प्रकाशित मिति: २ पुस २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com