काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राई (साम्पाङ) ले श्रमिकको सम्मान र देशको दिगो विकास श्रम संस्कृतिमै आधारित हुनुपर्ने बताएका छन्।
श्रम संस्कृति पार्टी धरान नगर समितिद्वारा आयोजित सवारी चालक तथा मजदुर सम्मान–अभिनन्दन कार्यक्रममा बोल्दै अध्यक्ष साम्पाङले काम सानो–ठूलो नहुने स्पष्ट पारे। उनले श्रमिकको सम्मान नगर्दासम्म अपेक्षित विकास सम्भव नहुने उल्लेख गर्दै श्रम संस्कृतिले मात्र राष्ट्रको समृद्धि सुनिश्चित गर्न सक्ने धारणा राखे।
नेपाली समाजमा कामलाई सानो ठान्ने प्रवृत्तिलाई चुनौती दिँदै उनले श्रमिकको अपमानले विकास अवरुद्ध भएको बताए। सबै श्रमिकको सम्मान सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै उनले आगामी निर्वाचनपछि श्रमिककै नेतृत्वमा सरकार बन्ने दाबी गरे। विकास र निकासको एकमात्र आधार श्रम संस्कृति भएको उनको भनाइ थियो।
उनका अनुसार श्रमिक भन्नाले केवल ढुङ्गा, गिटी वा बेल्चा बोकेर काम गर्ने मात्र नभई शारीरिक श्रम गरेर जीविकोपार्जन गर्ने सबै व्यक्ति पर्छन्। हामी सबै श्रमिक हौँ, श्रमिकको सम्मानले मात्र समाज र राष्ट्र अघि बढ्छ, उनले भने।
कार्यक्रममा सवारी चालक, मजदुर, सामाजिक संघ–संस्था तथा पार्टीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
प्रकाशित मिति: २ पुस २०८२, बुधबार












प्रतिक्रिया