काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता तथा अध्यक्ष पदका उम्मेदवार ईश्वर पोखरेल ले काठमाडौंमा जारी पार्टीको ११औँ महाधिवेशनले संगठनात्मक र वैचारिक पुनर्व्यवस्थामार्फत परिवर्तनको अपेक्षा पूरा गर्ने विश्वास व्यक्त गरेका छन्।
बुधबार निर्वाचनस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पोखरेलले पार्टीलाई समयअनुकूल विचार, संगठन र कार्यसम्पादन शैलीमा पुनर्संरचना गर्न आवश्यक रहेको बताए। सोही उद्देश्यका साथ आफूले नेतृत्वको उम्मेदवारी दिएको उनको भनाइ थियो।
उनले महाधिवेशनमार्फत देशव्यापी रूपमा पार्टीलाई पुनर्व्यवस्थित गर्ने चाहना प्रतिनिधिहरूमा व्यापक रहेको उल्लेख गरे। “विचारमा पुनर्व्यवस्थित हुनु जरुरी छ। संगठन र काम गर्ने शैलीमा पनि सुधार आवश्यक छ,” पोखरेलले भने।
पार्टी सञ्चालन सामूहिक नेतृत्वअन्तर्गत विधि र पद्धतिमा आधारित हुनुपर्नेमा जोड दिँदै उनले आम प्रतिनिधिहरूको यही भावना प्रतिनिधित्व गर्न आफूहरू मैदानमा उत्रिएको बताए।
यसैबीच, पदाधिकारी पदमा धेरै उम्मेदवार रहेकाले मतदान प्रक्रिया अपेक्षाकृत लामो समय लागेको उनले जानकारी दिए।
प्रकाशित मिति: २ पुस २०८२, बुधबार












प्रतिक्रिया