काठमाडौं । नेकपा एमालेका नवनिर्वाचित सचिव महेश बस्नेतले पार्टी नयाँ म्यान्डेटसहित अघि बढिरहेको बताएका छन्।
सचिव पदमा निर्वाचित भएको लगत्तै सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै बस्नेतले एमाले अब स्थिर सरकार निर्माणमा केन्द्रित हुने बताएका छन्। उनले फागुन २१ का लागि सरकारले तोकेको निर्वाचन पार्टीको प्राथमिकतामा नरहेको स्पष्ट पारे।
भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि सुशीला कार्की नेतृत्वको सरकारले प्रतिनिधि सभा विघटन गरेकोप्रति उनले आपत्ति जनाए। बस्नेतले संसद पुनर्स्थापना नै एमालेको पहिलो एजेन्डा रहेको उल्लेख गरे।
उनका अनुसार संसद पुनर्स्थापना भएपछिको सर्वपक्षीय सरकार गठनमा एमाले सहभागी हुनेछ र उक्त सरकारले घोषणा गर्ने निर्वाचनमा पार्टी सहभागी हुनेछ। बस्नेतले आगामी दिनमा एमाले स्थिर र जिम्मेवार राजनीतिक भूमिकामा अघि बढ्ने दाबी पनि गरे।
प्रकाशित मिति: ३ पुस २०८२, बिहिबार













प्रतिक्रिया