सुर्खेत । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्य पदमा पराजित भएपछि पूर्वमाओवादी नेता ठम्मर विष्टले एमाले परित्याग गरेका छन्।

बिहीबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत लामो वक्तव्य सार्वजनिक गर्दै विष्टले एमालेको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको घोषणा गरेका हुन्। कर्णाली प्रदेश भूगोलतर्फ केन्द्रीय सदस्यका उम्मेदवार रहेका उनले ८७५ मत मात्र प्राप्त गरेपछि पराजित भएका थिए। अध्यक्ष केपी शर्मा ओली समूहबाट टिकट पाउनेमा ढुक्क रहेका विष्ट अन्तिम समयमा ओलीको आधिकारिक सूचीमा नपरेपछि ईश्वर पोखरेल समूहबाट उम्मेदवारी दिएका थिए।

advertisement

एमाले महाधिवेशनको अनौठो नतिजा : अध्यक्षमा भारी मतसहित विजयी भएका ओली केन्द्रीय सदस्यमा पराजित

सुर्खेतका स्थायी बासिन्दा विष्ट तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद चर्किँदै जाँदा कर्णाली प्रदेशसभा सदस्य पद त्यागेर एमाले प्रवेश गरेका थिए। २०७४ सालमा सुर्खेत–१ (१) बाट माओवादी केन्द्रका तर्फबाट प्रत्यक्ष निर्वाचित उनले सांसद पद त्याग्दा पनि एमाले नेतृत्वले त्यसको उचित मूल्यांकन नगरेको गुनासो गरेका छन्।

राजीनामा पत्रमा विष्टले अध्यक्ष ओलीसँगको भेटलाई लिएर गम्भीर आरोप लगाएका छन्। मंसिर २४ गते भएको ‘वन–टु–वन’ भेटमा ओलीले ‘सीसी बैठकमा किन त्यस्तो बोलेको ? मलाई सबै थाहा छ’ भन्दै हप्काएको उल्लेख गर्दै उनले आफूलाई सम्मानित नेता होइन, क्षमादान माग्न पुगेको दासजस्तै व्यवहार गरिएको अनुभूति भएको बताएका छन्।

उनले एमालेभित्र पूर्वमाओवादी तथा अन्य पार्टीबाट आएका नेता–कार्यकर्तालाई सधैं दोस्रो दर्जाको नागरिकसरह व्यवहार गरिएको आरोप पनि लगाएका छन्। विष्टका अनुसार पार्टीभित्र ‘वंशज’ र ‘अंगीकृत’ को विभाजन गर्दै हेडक्वार्टरबाटै संस्थागत रूपमा सूची वितरण गरियो र साम, दाम, दण्ड, भेद प्रयोग गरी आफूजस्ता नेताहरूलाई योजनाबद्ध रूपमा पराजित गरियो।

जननेता मदन भण्डारीको विचारलाई सीमित गरिएको र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको समेत अपमान भएको आरोप लगाउँदै विष्टले एमाले नेतृत्व आदर्श र मूल्य–मान्यताबाट विचलित भएको निष्कर्षसहित पार्टी छाड्ने निर्णय गरेको बताएका छन्।

प्रकाशित मिति: ३ पुस २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com