काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रिहा हुने भएका छन्। उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशअनुसार आवश्यक कागजी प्रक्रिया पूरा भएपछि उनलाई आजै थुनामुक्त गरिनेछ।
लामिछाने आफैं रुपन्देही जिल्ला अदालतमा उपस्थित हुनुपर्ने भएकाले हिजो रिहा हुन सकेका थिएनन्। उच्च अदालतका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले उनलाई तीन सर्तसहित रिहा गर्न आदेश दिएको हो। आदेशको अन्तिम बुँदामा बिगोको हकमा दायित्व सिर्जना भए तिर्न–बुझाउन मञ्जुर हुने कागज गराउनुपर्ने उल्लेख छ।
उक्त आदेशअनुसार आवश्यक कागजात पूरा गरेपछि मात्र लामिछानेलाई रिहा गर्न सकिने रुपन्देही जिल्ला अदालतका तहसिलदार कृष्णप्रसाद पौडेलले जानकारी दिए। उनका अनुसार उच्च अदालतको पत्र प्राप्त भएपछि बैंक जमानतको प्रमाणीकरण, सनाखत लगायतका प्रक्रिया पूरा गरिनेछ।
लामिछाने हाल ललितपुरस्थित नख्खु कारागारमा थुनामा छन्। बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा उनी यसअघि २०८१ माघमा राखेको एक करोड रुपैयाँ धरौटी पुनः बुझाउनुपर्नेछ। अदालतका अनुसार उक्त धरौटी रकम यसअघि फुकुवा भइसकेको छ र यसबारे उनका कानुन व्यवसायीलाई जानकारी गराइसकिएको छ।
बिगोको हकमा दामासाहीले पर्ने रकम सुनिश्चित गर्न भन्दै लामिछानेले बैंक जमानतसहित उच्च अदालतमा निवेदन दिएका थिए, जसलाई अदालतले सर्तसहित स्वीकार गरेको छ। निवेदनसँग पेस गरिएको दुई करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत प्रमाणीकरण र सनाखत गरिने अदालतले जनाएको छ।
अदालतको आदेशअनुसार सबै प्रक्रिया पूरा भएपछि मात्र उनलाई थुनामुक्त गरिने कारागार व्यवस्थापन विभागले स्पष्ट पारेको छ।
प्रकाशित मिति: ४ पुस २०८२, शुक्रबार













प्रतिक्रिया