काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका संयोजक डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अदालतले सशर्त धरौटीमा रिहा गर्न दिएको आदेशलाई स्वागतयोग्य ठानेका छन्।

भट्टराईका अनुसार रविलाई धरौटीमा रिहा गर्न अदालतले गरेको निर्णय विधिको शासन, सहकारी पीडितको हित र राजनीतिक दृष्टिकोण सबै हिसाबले सन्तुलित र सराहनीय रहेको छ।

advertisement

पूर्वप्रधानमन्त्री भट्टराईले भनेका छन्, ‘यसले रविलाई विधिसम्मत तरिकाले आफ्नो निष्ठा प्रमाणित गर्ने, जनताबीच गएर जनअनुमोदन प्राप्त गर्ने, र सहकारी पीडितहरूले आफ्नो गहिरो पीडाको कानुनी समाधान पाउने अवसर प्रदान गरेको छ।’

उक्त विषयलाई आफूले गत वर्षदेखि पटक–पटक उठाउँदै आएको भन्दै भट्टराईले थपे, ‘गत वर्ष पोखराको प्रहरी हिरासतमा रविजीलाई भेटेपछि मिडियासामक्ष व्यक्त गरेको मेरो विचार यही हो—लोकतन्त्रको सौन्दर्य यही हो। सबैले तथ्यको आधारमा सत्य खोज्नुपर्छ। कुनै आधारहीन अनुमान वा षड्यन्त्रको पछि नलागौं।’

भट्टराईले बहुदलीय लोकतन्त्र भनेको दल र व्यक्तिहरूबीच स्वस्थ प्रतिस्पर्धा र आवश्यक सहकार्यको मिश्रण भएको स्मरण गराउँदै भने, ‘प्रतिस्पर्धा गर्दा विपक्षीलाई शत्रु जस्तो नमानौं र सहकार्य गर्दा आफ्ना फरक–फरक वैचारिक राजनीतिक आस्था र प्रतिबद्धता बिर्सने गल्ती नगरौं।’

प्रकाशित मिति: ४ पुस २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com