काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन थापा फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा ६ स्थानबाट उम्मेदवारका रूपमा सिफारिस भएका छन्। कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले मङ्सिर १५ गते प्रत्यक्ष र समानुपातिक दुवै तर्फका उम्मेदवारको नाम मङ्सिर मसान्तसम्म सिफारिस गर्न मातहतका समितिलाई निर्देशन दिएको थियो।
उक्त निर्णयअनुसार केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोही दिन मातहतका कार्यालयमा परिपत्र गरेका थिए। त्यसैको आधारमा प्रतिनिधिसभा क्षेत्रीय समितिहरूले उम्मेदवार सिफारिस गर्दा महामन्त्री थापाको नाम छ निर्वाचन क्षेत्रबाट अघि सारिएको हो।
थापा काठमाडौँ–४, रोल्पा, धनकुटा, सर्लाही–४, तेह्रथुम र कपिलवस्तु–१ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ सिफारिस भएका छन्। तीमध्ये तेह्रथुम र काठमाडौँ–४ बाट उनको नाम एकल उम्मेदवारका रूपमा सिफारिस भएको छ भने बाँकी क्षेत्रमा अन्य नेताहरूको नाम पनि समेटिएको छ।
थापा यसअघि चार कार्यकाल प्रतिनिधिसभा सदस्य भइसकेका छन्। उनले तीन पटक प्रत्यक्ष निर्वाचन जितेका छन् भने एक पटक समानुपातिक प्रणालीमार्फत सांसद बनेका थिए। २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा उनी समानुपातिक प्रणालीबाट निर्वाचित भएका थिए। त्यसपछि २०७०, २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ–४ बाट प्रत्यक्षतर्फ कांग्रेसका उम्मेदवार बनेर लगातार विजयी हुँदै आएका छन्।
हाल काठमाडौँ–४ बाहेक अन्य स्थानबाट पनि सिफारिस भए तापनि थापाले पुरानै निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गर्ने तयारी गरेका छन्। थापाको सचिवालयले विभिन्न स्थानबाट सिफारिस गर्ने नेताहरूलाई धन्यवाद दिँदै, काठमाडौँ–४ बाटै उम्मेदवार बन्ने जानकारी दिएको छ।
प्रकाशित मिति: ४ पुस २०८२, शुक्रबार













प्रतिक्रिया