काठमाडौं । कास्की जिल्लाका दुई फरक स्थानमा एक्लै हिँडिरहेका महिलामाथि लुटपाट गर्ने समूहका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा लुटपाटमा संलग्न तीन जना र लुटिएको गहना बिक्रीमा सघाउने दुई जना रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार पक्राउ पर्नेमा मादी गाउँपालिका–६ तप्राङ घर भई हाल पोखरा–१ भिमकालीपाटन बस्ने २१ वर्षीय सुशील नेपाली, पोखरा–२३ घर भई हाल भिमकालीपाटन बस्ने २७ वर्षीय आशिष नेपाली सुनार र पोखरा–२३ का १८ वर्षीय विजय पराजुली छन्। यी तीनै जना लुटपाटमा प्रत्यक्ष संलग्न रहेको प्रहरीले जनाएको छ।

advertisement

त्यसैगरी, चोरीका गरगहना बिक्री गर्न सघाएको आरोपमा आशिष नेपाली सुनारकी २१ वर्षीया श्रीमती अस्मिता नेपाली र मुस्ताङको थासाङ गाउँपालिका–२ घर भई हाल पोखरा–१ बाघबजार बस्दै आएका ५३ वर्षीय तुलबहादुर विश्वकर्मा पक्राउ परेका छन्। विश्वकर्मा पोखरा–१ बगरस्थित मुक्तिनाथ सुनचाँदी दुकानका सञ्चालक हुन्।

प्रहरीका अनुसार पुस १ गते अपराह्न करिब ३:४० बजे माछापुच्छ्रे गाउँपालिका–६ ठूलोकुनामा ८२ वर्षीया महिलालाई एक्लै हिँडिरहेको अवस्थामा लछारपछार गरी कानमा लगाएका सुनका रिङ लुटिएको थियो। सोही दिन अपराह्न ४:५५ बजे पोखरा–१९ पुरुञ्चौरमा ६५ वर्षीया महिलाको पनि कानमा लगाएको सुनको रिङ लुटिएको पाइएको छ।

अनुसन्धानका क्रममा लुटिएका गहना आशिष नेपाली सुनारको घरमा लुकाइराखिएको र तीमध्ये एक जोर रिङ उनकी श्रीमती अस्मिताले बगरस्थित सुनचाँदी पसलमा बिक्री गरेको खुलेको प्रहरीले जनाएको छ।

प्रहरीले आरोपितहरूको साथबाट सुनजस्तै देखिने पहेंलो रङको २४ लाल ९ प्वाइन्टको धातुको डल्लो एक थान, १ तोला ५ लालका बाला दुई थान, ४५ लाल ५ प्वाइन्टका कानका रिङ दुई थान, नगद ६० हजार रुपैयाँ, तीन थान मोबाइल फोन र ग.६प. ५१८२ नम्बरको एक थान स्कुटर बरामद गरेको जनाएको छ।

पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रकाशित मिति: ४ पुस २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com