काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको ११औँ महाधिवेशनबाट केपी शर्मा ओली नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कमिटीलाई बधाई दिँदै प्रतिस्पर्धामार्फत नेतृत्व चयन हुनु जनताको बहुदलीय जनवाद (जबज)को जीवन्त अभ्यास भएको बताएकी छन्।
बधाई सन्देश जारी गर्दै भण्डारीले लोकतान्त्रिक प्रतिस्पर्धाको माध्यमबाट पार्टीले नेतृत्व चयन गर्नु एमालेको संगठनात्मक परिपक्वताको परिचायक भएको उल्लेख गरेकी छन्। उनका अनुसार यस्तो प्रक्रिया आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने मात्र होइन, पार्टीको वैचारिक आधार जबजलाई व्यवहारमा उतार्ने उदाहरण पनि हो।
सन्देशमा उनले महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले पार्टीको सिद्धान्त र मार्गदर्शनअनुसार सामूहिक नेतृत्व, संगठनात्मक एकता र आन्तरिक लोकतन्त्रलाई अझ सुदृढ गर्दै पार्टीलाई अघि बढाउने विश्वास व्यक्त गरेकी छन्।
भण्डारीले महाधिवेशनमा विचार, निष्ठा र पद्धतिप्रति प्रतिबद्ध रहँदै प्रतिस्पर्धामा सहभागी भएका सबै नेता तथा कार्यकर्ताप्रति आभार व्यक्त गरेकी छन्। लोकतान्त्रिक प्रणालीमा प्रतिस्पर्धा स्वाभाविक र अपरिहार्य प्रक्रिया भएको उल्लेख गर्दै उनले यसले संस्थालाई थप सक्षम र जीवन्त बनाउने बताएकी छन्।
प्रकाशित मिति: ५ पुस २०८२, शनिबार













प्रतिक्रिया