काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले आफ्नो पार्टी इमानदारीताका साथ अगाडि बढिरहेको दाबी गरेका छन्। साथै, उनले देश विकासका लागि एक पटक आफ्नो पार्टीलाई मौका दिन आमजनसमुदायसँग आग्रह पनि गरे।
काठमाडौंको भृकुटीमण्डपमा आयोजित एकता सन्देश सभामा सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘हामी साँच्चै जनताको चाहनालाई साकार पार्नका लागि इमानदारीताका साथ अघि बढेका छौं। अब एक पटक तपाईंहरूले हामीलाई मौका दिनु आवश्यक छ। हामीले आजसम्म इमानदारीको राजनीति, देशभक्तिको भावना, देशप्रेम र सेवाको भावनालाई केन्द्रमा राखेर भूमिका निर्वाह गर्दै आएका छौं।’
उनले पार्टीका नेताहरूले खेलेको भूमिका प्रति मूल्यांकन गर्न पनि आम जनता र समर्थकहरूलाई आग्रह गरे। ‘देशमा गणतन्त्र स्थापना गर्ने सन्दर्भ होस् वा संविधान ल्याउने, लोकतान्त्रिक गणतन्त्रको स्थापनासँग सम्बन्धित होस् वा देशको विकास योजनालाई अघि बढाउने सन्दर्भ होस्, हामीले खेलेको भूमिकालाई सबैले मूल्यांकन गर्नुपर्छ। राम्रोलाई राम्ररी, नराम्रोलाई आलोचना गर्न सक्नुहुन्छ, हामी स्वीकार गर्न तयार छौं,’ उनले भने।
नेपालको भनाइअनुसार, पार्टीले चुनौतीको सामना गर्दै देश र जनताको हितमा सधैं सक्रिय भूमिका खेल्दै आएको छ र अब आमजनताको विश्वास र अवसर आवश्यक रहेको छ।
प्रकाशित मिति: ५ पुस २०८२, शनिबार













प्रतिक्रिया