चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले तोकिएकै समयमा निर्वाचन सम्पन्न गरिनुपर्ने माग गर्दै सरकारसँग आग्रह गरेका छन्। चितवनमा आयोजित विशेष सभामा सम्बोधन गर्दै उनले मुलुकको भविष्यलाई केन्द्रमा राखेर अगाडि कदम चाल्नुपर्ने बेला आएको बताए।
लामिछानेले देशका भत्किएका संरचना पुनः निर्माण गर्नु र नागरिकका टुटेका सपनाहरूलाई जोड्नु अहिलेको मुख्य आवश्यकता भएको उल्लेख गरे। उनले भने, ‘पुराना राजनीतिक दलहरूले जनतालाई दुःख दिएका भए पनि अबको नयाँ शक्तिहरूले त्यस्तो गर्ने छैनन्। हामी जनताको विश्वास, साथ र मायाको आधारमा मुलुकलाई नयाँ दिशामा लैजान अठोटबद्ध छौं। आगामी निर्वाचन सबै नेपालीका लागि निर्णायक हुनेछ।’
सभामा लामिछानेले सरकारसँग पनि आग्रह गर्दै भने, ‘सुशासनको डण्डा चलाउँदै समयमै निर्वाचन सम्पन्न गर्नुहोस्।’
उक्त अवसरमा उनले प्रधानमन्त्री सुशीला कार्कीको अनुहारमा ‘अन्धकार’ देखिएको टिप्पणी गर्दै अब देशको उज्यालो भविष्यतर्फ अगाडि बढ्न सुझाव दिएका छन्। लामिछानेले देशलाई न्याय दिने ठाउँमा पुगेकाले खुट्टा नकमाउन र इतिहासले दिएको अवसरको सदुपयोग गर्न प्रधानमन्त्रीलाई पनि सल्लाह दिएका छन्।
साथै, उनले शहीदको बलिदान खेर जान नदिने र ‘जेन-जी’ पुस्ताका मागहरू पूरा गर्न रास्वपा सधैं तयार रहेको दाबी गरे।
प्रकाशित मिति: ५ पुस २०८२, शनिबार













प्रतिक्रिया