चितवन । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले आफूले वर्षौँको मेहनतबाट कमाएको प्रतिष्ठा दाउमा राखेर नै राजनीतिमा होमिएको स्पष्ट पारेका छन्। उज्यालो नेपाल पार्टीको चितवन भेला अन्तर्गत आज भरतपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशलाई सही दिशामा अघि बढाउन राजनीतिको विकल्प नरहेको ठोकुवा गरे।

घिसिङले विद्युत् प्राधिकरणमा रहँदा कमाएको ख्याती राजनीति प्रवेशसँगै गुम्न सक्ने भन्दै धेरै शुभेच्छुकले राजनीति नगर्न सुझाव दिएको स्मरण गरे। तर धार्मिक संस्था वा सामाजिक संघसंस्थामार्फत मात्रै देशमा ठोस परिवर्तन सम्भव नदेखेपछि राजनीतिक दलमार्फत अघि बढ्ने निर्णय गरेको उनले बताए।

advertisement

‘धार्मिक संस्था वा सामाजिक संघसंस्थामा बसेर काम गर्न सकिन्थ्यो,’ घिसिङले भने, ‘तर त्यहाँबाट देशमा संरचनागत परिवर्तन सम्भव हुँदैन भन्ने निष्कर्षमा पुगेर राजनीतिमा आएँ।’

उनले देशका ठूला भनिएका राजनीतिक दलहरूले परिवर्तनमा भूमिका खेले पनि सुशासन स्थापना र भ्रष्टाचार नियन्त्रणमा असफल हुँदा जनतामा व्यापक असन्तोष बढेको टिप्पणी गरे। आफूले कुनै पनि दल वा नेताविरुद्ध गालीगलौज र अनावश्यक लाञ्छना नलगाउने अडान लिएको उल्लेख गर्दै उनले आफ्नो छवि बिगार्न योजनाबद्ध षड्यन्त्र सुरु भएको आरोपसमेत लगाए।

आगामी निर्वाचनमा नयाँ राजनीतिक दलहरूबीच सहकार्यको सम्भावना अझै कायम रहेको भन्दै घिसिङले यो चुनाव जनताका लागि सही दल र योग्य नेतृत्व छान्ने महत्वपूर्ण अवसर भएको बताए। पुराना दलभित्र रहेका असल र इमानदार व्यक्तिलाई समेत जनताले जिताउनुपर्ने धारणा उनले व्यक्त गरे।

नयाँ दलहरूबीच एकताको सन्दर्भमा स्वार्थरहित सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उनले ‘आज मिल्ने, भोलि फुट्ने’ किसिमको अस्थायी एकता अस्वीकार्य हुने स्पष्ट पारे।

प्रकाशित मिति: ५ पुस २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com