काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिई कुनै पनि उम्मेदवारले सवारीसाधन प्रयोग गर्न नपाउने व्यवस्था गरिएको छ। अनुमति प्राप्त सवारीसाधनबाहेक अन्य सवारी प्रयोग गरी निर्वाचन प्रचारप्रसार गर्न वा प्रचार सामग्री प्रदर्शन गर्न निषेध गरिएको छ।

अनुमति बिना सवारीसाधन प्रयोग गरेको पाइएमा त्यस्ता सवारीसाधन नियन्त्रणमा लिई कारबाही गरिनेछ। ट्राफिक प्रहरी वा अन्य सुरक्षाकर्मीले सवारीसाधन नियन्त्रणमा लिई त्यसको जानकारी जिल्ला आचारसंहिता अनुगमन समितिलाई गराउनुपर्ने व्यवस्था गरिएको छ।

advertisement

प्रस्तावित आचारसंहिताअनुसार निर्वाचन अधिकृतको अनुमति लिई सम्बन्धित निर्वाचन क्षेत्र वा उम्मेदवार रहेको स्थानमा आयोगले तोकेबमोजिम बढीमा दुईवटा दुईपाङ्ग्रे, तीनपाङ्ग्रे वा चारपाङ्ग्रे विद्युतीय वा यान्त्रिक सवारीसाधन प्रयोग गर्न सकिनेछ। सवारीसाधन नचल्ने स्थानमा भने चारवटा घोडा प्रयोग गर्न पाइनेछ।

विदेशी नम्बर प्लेटका सवारीसाधन प्रयोग गर्न नपाइने र यस्ता सवारीका लागि कुनै पनि अनुमति नदिइने स्पष्ट गरिएको छ। राजनीतिक दलले प्रक्रिया पूरा गरी तोकिएको सङ्ख्या र प्रकारका सवारीसाधन मात्र प्रयोग गर्न सक्नेछन्। सवारीसाधनको स्वरूप परिवर्तन गरी प्रयोग गर्नु वा गराउनु पनि प्रतिबन्धित गरिएको छ।

अनुमति प्राप्त सवारीसाधन अन्य दल वा उम्मेदवारलाई प्रयोग गर्न दिन नपाइने र त्यस्ता सवारी प्रयोग गरी मतदाता ओसारपसार गर्न पनि निषेध गरिएको छ।

तर हिँडडुल गर्न नसक्ने गर्भवती महिला, सुत्केरी, साथमा साना बच्चा बोकेकी महिला, किरीयापुत्री, शारीरिक रूपमा असक्त वा अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिक मतदाताका हकमा निर्वाचन अधिकृतको अनुमति भएमा सवारीसाधन प्रयोग गर्न रोक नलाग्ने व्यवस्था गरिएको छ।

यसैगरी राजनीतिक दलले प्रचारप्रसारका लागि आफ्नोतर्फबाट मुख्य प्रचारकको नाम आयोगमा बुझाउनुपर्ने र आयोगबाट अनुमति प्राप्त मुख्य प्रचारकले हेलिकप्टर प्रयोग गर्न सक्ने व्यवस्था पनि प्रस्तावित आचारसंहितामा समावेश गरिएको छ।

प्रकाशित मिति: ६ पुस २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com