रोल्पा । रोल्पाको रुन्टीगढी गाउँपालिका–५, जस्पुरमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार ४८ वर्षीय अमराज दमाइले आफ्नी ५२ वर्षीया श्रीमती रिमा परियारमाथि कुटपिट गर्दा उनको मृत्यु भएको हो। घटनापछि अमराजलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुनिल थापाले जानकारी दिए।
प्रहरीका अनुसार मदिरा सेवन गरेका अमराजले शनिबार साँझ करिब ६ बजे श्रीमती रिमामाथि कुटपिट गरेका थिए। कुटपिटबाट गम्भीर घाइते भएकी रिमाको अवस्थाबारे इलाका प्रहरी कार्यालय होलेरीमा खबर प्राप्त भएपछि प्रहरी निरीक्षक मनिष थापाको नेतृत्वमा पाँच सदस्यीय टोली घटनास्थलमा पुगेको थियो।
प्रहरीले तत्काल घाइते रिमाको उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा उपचारका लागि पठाएको थियो। तर साँझ पौने सात बजे चिकित्सकले जाँचपश्चात उनलाई मृत घोषणा गरेका थिए।
घटनापछि प्रहरीले अमराज दमाइलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको छ। मृतक रिमाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल रेउघामा पठाइएको छ।
घटनाले स्थानीय क्षेत्रमा शोक र आक्रोशको वातावरण सिर्जना भएको छ।
प्रकाशित मिति: ६ पुस २०८२, आइतबार













प्रतिक्रिया