काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जेन–जी आन्दोलनका शहीद परिवारसँग भेट गरी उनीहरूको पीडाप्रति ऐक्यबद्धता व्यक्त गरेका छन्। शनिबार चितवनबाट काठमाडौँ फर्किएपछि उनी बबरमहलस्थित जेन–जी शहीद परिवार कल्याणकारी संस्थाको कार्यालय पुगेर शहीद परिवारसँग छलफलमा सहभागी भएका हुन्।

भेटका क्रममा शहीद परिवारका अनुभव सुन्दै लामिछाने भावुक बनेको बताइएको छ। हिरासतबाट मुक्त भएपछि शहीद परिवार, विशेषगरी आमाहरूको पीडामा साथ दिनु आफ्नो प्राथमिकता रहेको उल्लेख गर्दै उनी कार्यालय पुगेका थिए।

advertisement

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले जेन–जी आन्दोलनका क्रममा युवाहरूमाथि गम्भीर अन्याय भएको आरोप लगाए। उनले घटनाबारे निष्पक्ष छानबिन र दोषीमाथि कारबाही हुनुपर्ने माग गर्दै शहीद परिवारको न्यायका लागि अन्तिमसम्म लड्ने प्रतिबद्धता जनाए। “गम्भीर घटनापछि पनि कारबाही अघि नबढ्नु चिन्ताजनक छ,” उनले भने, “शहीद परिवारको न्यायका लागि रास्वपा अग्रपंक्तिमा उभिन्छ।”

लामिछानेले सुशासनका सवालमा सरकारसँग सहकार्य गर्न पार्टी तयार रहेको स्पष्ट पार्दै जेन–जी आन्दोलन र शहीद परिवारका माग पूरा गराउन पूर्ण समर्थन रहने बताए।

यसअघि चितवनमा आयोजित पार्टी कार्यक्रममा पनि उनले जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको बलिदान खेर जान नदिने प्रतिबद्धता व्यक्त गरेका थिए। आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचार, न्याय र पुनःस्थापनाका लागि पार्टीले सक्रिय भूमिका खेल्ने उनको भनाइ छ।

उनले जेन–जी अभियन्ता, नयाँ पुस्ता र परिवर्तन चाहने सबै नागरिकलाई एकताबद्ध गर्दै देश परिवर्तनको अभियानलाई थप सशक्त बनाइने विश्वाससमेत व्यक्त गरेका छन्।

प्रकाशित मिति: ६ पुस २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com